राजेशमानलाई चाँदी मुकुट, वीरगञ्जमा चलेन नोटको जादु
|
Getting your Trinity Audio player ready...
|
वीरगञ्ज ।

पहिलो स्थानीय चुनाव जितेर विजयकुमार सरावगी मेयर भएपछि वीरगन्ज महानगरपालिकामा गजबले चलेको हिन्दी फिल्मको डाइलग हो- ‘मेरे पास पैसा है,मै सबको खरिद लुगां’। अहिले यही सम्वादले विजयलाई जिस्काइरहेको छ। चुनावको मुखमा पैसाकै बलमा चुनाव जित्ने घमन्डले माउ पार्टी परित्याग गरेर एमाले प्रवेश गरे पनि विजयलाई प्रतिस्पर्धी राजेशमान सिह श्रेष्ठले दोबरभन्दा बढी मतले हराएपछि पैसा सबै कुरा हैन भन्ने स्थापित भएको जस्तो देखिन्छ।
जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका विजय सरावगीलाई २३ हजार ६ सय ७१ मत परेको छ। सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी हुनुभयो। उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाउनु भयो भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्म झा ९५६८ मतमात्रै पाउनु भयो।
चुनावमा राजेशमान भन्दा १० हजार मत बढी ल्याएर जित्ने विजयकुमारको दाबी थियो। तर दोब्बर भन्दा बढी मतले हारेपछि त्यसको मुख्य कारण नेपाली कांग्रेस भएको विजयकुमारको गुनासो छ। नेपाली कांग्रेसका अधिकांश नेताले आफूसँग ठूलो रकम लिएर चुनावमा धोखा दिएको विजयकुमारको दावी छ।
चुनाव परिणाम घोषणा पछि बिजयी मेयर र उपमेयरलाई पूर्व मेयर विजय सरावगीले बधाई दिदैँ भन्नुभएको छ, ”आवधिक निर्वाचनमार्फत जनताले चुनेका जनप्रतिनिधिबाट शासन सञ्चालनको प्रबन्ध लोकतन्त्रको सुन्दर पक्षमात्रै होइन, मूल चरित्र हो।”
स्थानीय तहको निर्वाचनमा दलहरूले गठबन्धन बनाउँदा पर्सामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट राजेशमान सिह श्रेष्ठको उम्मेदवारी परेको थियो। यो निर्वाचनमा प्रतिस्पर्धी अनुहार दोहोरिए पनि परिवेश भने बिल्कुलै फरक थियो। दुवै उम्मेदवार नवप्रवेशी भएपनि दलगत भन्दा पनि विजयकुमार विरुद्ध राजेशमानको चुनाव जस्तो भएको थियो।
नेपाली कांग्रेसका ठुलो पकड भएकोले गर्दा सत्ताधारी गठबन्धनको उम्मेदवार राजेशमान सिंह बन्ने वित्तिकै नेपाली कांग्रेसका स्थानीय नेताहरू बिच बढेको आक्रोशका कारण सरावगीलाई चुनावमा बाजी लगाउने आँट आएको थियो।
समयमै गठबन्धनले पाँचै दलका वडा अध्यक्षहरूलाई दिएको निर्देशनले गठबन्धन आबद्ध दलहरू एक अर्का प्रति इमानदार नरहेको आरोपलाई चिर्न सफल भएको नेपाली कांग्रेसका पूर्व सभापति अजय द्विवेदीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘गठबन्धनका उम्मेदवारलाई जिताउनु हाम्रो नैतिक धर्म भएकोले हामी सबै इमानदारीपूर्वक लागेकाले यो जित सुनिश्चित भएको हो ’।
विजय पछि पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रदिप यादवले मेयरमा जितेका राजेशमान सिह श्रेष्ठलाई चाँदीको मुकुट लगाइदिनु भएको छ। मङ्गलबार बिहान मेयरमा निर्वाचित भएपछि मतगणनास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा नवनिर्वाचित मेयर सिंहले भन्नुभयो, ’ सपथ लिएको २४ घण्टा नबित्दै महानगरवासीलाई परिवर्तनको अनुभूति गराएर देखाउँछु।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार












