फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड
कैलाली । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए ।
साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने प्रचण्डको दाबी छ ।
यसरी हुने कम्युनिष्ट तथा वाम एकता माओवादीको नेतृत्व हुने बताउँदै उनले यसको नेतृत्व आफूले लिने जानकारी दिए । आसन्न निर्वाचनमा माओवादीलाई जनताको साथ रहने प्रचण्डले विश्वास व्यक्त गरे ।
जनताले २०६४ मा दिएको बहुमत माओवादीले पचाउन सकेन
अध्यक्ष प्रचण्डले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताएका छन् । उनले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारेका हुन् ।
‘२०६४ सालमा प्रत्यक्षतर्फ माओवादीले बहुमत ल्यायो,’ प्रचण्डले भने, ‘तर, माओवादीले पचाउन सकेन । पखाला लाग्यो ।’ अब जनताको विश्वासलाई माओवादीले गुम्न नदिने भन्दै प्रचण्डले आसन्न निर्वाचनपछि माओवादीले देशको नेतृत्व लिने दाबी गरे ।
बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ ।
देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए ।
असन्तुष्ट देखिएका साथीहरुले तालमेलको मर्म बुझ्छन्
प्रचण्डले अहिले असन्तुष्ट देखिएका साथीहरुले पाँद दलीय तालमेलको मर्म बुझ्ने बताएका छन् । आमसभामा जानु अगाडि धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनका दलहरुभित्र नमिलेका कुरा छिट्टै मिल्ने विश्वास समेत व्यक्त गरे ।
निर्वाचनको बेला देखिने असन्तुष्टि लोकतन्त्रकै एउटा रुप भएकोले त्यसलाई अन्यथा लिन नहुने उनले जनाए ।
‘गठबन्धनमा मात्रै होइन्, एउटै दलभित्र समेत एउटाले टिकट पाउँदा अर्को असन्तुष्ट हुनु स्वभाविक हो । झन् गठबन्धन नै तालमेलमा जाने भएपछि यसलाई सामान्यरुपमा लिनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले देखिएका सबै असन्तुष्टि हल हुन्छन् । गठबन्धनका दलहरुले निकै सुझबुझका साथ निर्णय गरेका छौं । अहिले असन्तुष्ट देखिएका साथीहरुले समेत तालमेलको मर्म बुझ्छन् । हामी एकढिक्का भएर अघि बढ्छौं ।’
अध्यक्ष प्रचण्डले केन्द्रमा महानगर र उपमहानगरपालिका तालेमलबारे गठबन्धनले गरेको निर्णयको स्पिरिट अनुसार नगर र गाउँपालिकामा समेत गठबन्धन हुने दाबी गरे । उनले केही स्थानमा सम्भव नै नभएमा मात्र स्वस्थ्य प्रतिष्पर्धा हुने जनाए ।
‘अहिले संविधानविरोधी, अग्रगमनविरोधी र उपलब्धि उल्ट्याउन खोज्नेहरु एक ठाउँ पुगेका छन् । यसबाट पनि हामी सही छौं भन्ने देखाएको छ । देश दुर्घटनामा पर्ने बेला माओवादी र यसको नेतृत्वले खेलेको भूमिका सहि प्रमाणित भएको छ,’ अध्यक्ष प्रचण्डले भने ।