रुसी हमलामा २४० सर्वसाधरण हताहत : राष्ट्रसंघ, रुसी विमान खसालिदिएको युक्रेनको दावी
मस्को । युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ ।
घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौं मानिसहरू पानी र बिजुलीबाट बन्चित भएको ओसीएचसीआर जनाइएको छ । राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रुपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहका छन् ।
रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ । राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ ।
गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन् ।
रुसी प्याराट्रुप्स बोकेको विमान खसालिदियौँ: युक्रेनी सेना
युक्रेनी सेनाले रुसी सेना चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ । रुसी प्याराट्रुप्स सवार विमानलाई किभबाट ४० किलोमिटर दक्षिणमा रहेको सहर भासीलकिभनजिकै खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । रुसी सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन् ।
विमानबाट प्यारासुटमार्फत सेनालाई झार्ने खोजीरहेका बेला रुसी आइएल–७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा जनाएको छ ।
विमान निर्माता कम्पनीका अनुसार आइएल–७६ एमडीले १६७ जना सैनिक र बढीमा ७ जनासम्म चालक दलका सदस्य बोक्ने क्षमता राख्छ ।
युक्रेनका सैन्य कमान्डरले आफ्नो फेसबुक पेजमा रुसी सैन्य विमान खसालेको संकेत गर्र्दै सन् २०१४ मा रुसले युक्रेनी विमान खसालेको घटनाको स्मरण गरेका छन् ।
यसैबीच शनिबार रुसी सेनाले गरेको हमलामा कुनै मानवीय क्षति नभएको समेत ती कमान्डरले दाबी गरेका छन् ।