बलात्कार आरोपी पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतकाे आदेश
काठमाडौं । जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन ।
उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए । तर, उनले आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । म्याद थपका लागि उनलाई प्रहरीले हथकडी लगाएरै अदालतमा पेश गरेको थियो ।
शाहले आफूमाथि लागेकाे आराेपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् । आत्मसमर्पण गर्नु अगाडि शाहले सामाजिक सञ्जालमा मार्फत आफु प्रहरीसामु उपस्थित हुने जानकारी गराएका थिए ।
उनले आफू बिरामी पनि रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै क्षमा याचना गरेका थिए ।
आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमा शाहले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’
पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी
बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।