केतनजी ब्राउन अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त, बन्ने छिन पहिलो अश्वेत महिला न्यायाधीश
अमेरिका । राष्ट्रपति जो बाइडेनले केतनजी ब्राउन ज्याक्सनलाई अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।
अब सिनेटले अनुमोदन गर्यो भने ज्याक्सनले अवकाश लिइरहेका न्यायाधीश स्टीफन जी ब्रेयरको ठाँउ लिनेछिन् । यसका साथै उनीले सर्वोच्च अदालतमा सेवा गर्ने पहिलो अश्वेत महिला न्यायाधीशको इतिहास रच्नेछिन।
झण्डै एक महिनाको खोज पछि शुक्रवार राष्ट्रपति बाइडेन अश्वेत महिलालाई बेन्चमा मनोनयन गर्ने निर्णयमा पुगेका हुन् । राष्ट्रपतिले ह्वाइट हाउसको क्रस हलबाट शुक्रवार मनोनयनको घोषणा गरेका हुन् ।
“धेरै लामो समयसम्म हाम्रो सरकार, हाम्रा अदालतहरू अमेरिका जस्तो देखिएनन्,” न्यायधीश मनोनय पछि बोल्दै राष्ट्रपति बाइडेनले भने “मलाई विश्वास छ कि यो समय हो कि हामीसँग हाम्रो देशको पूर्ण प्रतिभा र महानता प्रतिबिम्बित गर्ने अदालत छ।”
५१ बर्षिया ज्याक्सन, उदारवादी झुकाव भएकी न्यायविद्का रुपमा चिनिन्छन् । उनको नियुक्तिले अदालतको वैचारिक सन्तुलनलाई परिवर्तन भने गर्दैन । नौ सदस्यीय सर्वोच्च न्यायधीसमा रिपब्लिकन द्वारा नियुक्त कन्जरभेटिभहरू ६ जना छन् ।
न्यायाधीश ज्याक्सनको नाममा डेमोक्र्याटहरूले प्रशंसा गरेका छन् । तर थोरै रिपब्लिकनहरूले मात्र उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।
ह्वाइटहाउसद्वारा विज्ञप्तिमा जनाइए अनुसार न्यायाधीश ज्याक्सन, वाशिंगटन डीसीमा जन्मिएर मियामीमा हुर्केकी हुन् । उनले हार्वर्ड कलेज र हार्वर्ड कानून स्कूल, जस्टिस ब्रेयरको अल्मा मेटरबाट स्नातक गरेकी छिन् ।
उनका आमाबाबुले सार्वजनिक विद्यालय शिक्षकको रूपमा आफ्नो क्यारियर सुरु गरेका थिए । पछि मियामी-डेड पब्लिक स्कूल प्रणालीमा नेता र प्रशासक बने ।
ज्याक्सन आफ्नो बाल्यकालमै उच्च उपलब्धि हासिल गर्ने व्यक्ति हुन् । उनी भाषण र बहस गर्नमा चर्चित थिइन । उनले विद्यार्थी संगठनको नेतृत्व पनि गरेकी थिइन ।
न्यायाधीश ज्याक्सन आफ्नो पति प्याट्रिक र उनका दुई छोरीहरूसँग वाशिंगटन, डीसीमा बस्छिन्।