सहिद स्मारक ए डिभिजन लिग : ६ गोल भएको खेलमा फ्रेन्ड्स र जावलाखेलले अंक बाँढे

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सहरी प्रतिद्वन्द्वी फ्रेन्ड्सविरुद्ध ३-३ गोलको बराबरी भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाएको छ । पहिलो हाफमै ३-० को अग्रता बनाएको जावलाखेल अन्तत अंक बाँड्न बाध्य भयो ।
रेलिगेसन ब्याटल बराबरीसँग जावलाखेलले ११ खेलबाट १० अंक ११औँ स्थानमा रह्यो । यता, फ्रेन्ड्स भने सात अंकसहित १३औँ स्थानमा झरेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले पहिलो हाफमै ३ गोल गरेको थियो । जावलाखेलको जितमा लोइक एमजीमी कोउआहिमले दुई गोल गर्दा रुपबहादुर लामाले एक गोल गरे ।
फ्रेन्ड्सका कप्तान नाथनियल जड गार्सियाले एक गोल गर्दा जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे ।
यता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले । अंक बाँडेसँगै दुवै टोलीलाई घाटा भएको छ । दुवै टोली हाल रेलिगेशन जोनमा छन् ।
च्यासल ६ अंकसहित पुछारमा छ । बीबीसी भने एक स्थान माथि उक्लिएको छ । उसको ११ खेलबाट सात अंक छ ।
च्यासलका राजिव लोप्चाङ र विकास मेराग्लिया गोल गर्नबाट चुकेका थिए । यता, बीबीसीका भुवन बस्नेत, शिशिर लेखी, रोशन राना मगर गोल गर्नबाट टाढा रहे ।
जारी लिगमा १० खेलबाट २६ अंकसहित मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । लिगका पुछारका दुई क्लब भने दोस्रो डिभिजनमा घटुवा हुनेछ ।
