सत्ता पक्षले निर्वाचन गर्न नचाहेको तामाङको आरोप

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भने पनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सत्ता पक्षीय गठबन्धनले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन बाझिएको भनेर गलत तर्क गरेको पनि तामाङको आरोप छ । उनले भने,“संविधानको धारा २२५ ले स्पष्ट पारेको छ । सरकार पक्षले गलत व्याख्या गरेको छ । वैशाखभित्रै निर्वाचन गर्नुपर्ने थियो । अहिले उहाँहरूले जेठमा गर्ने कुरा गर्नुभएको छ । अब जेठमा नगरेर असोजको कुरा गर्ने पनि खतरा होला । हामी भन्छौँ कि वैशाखभित्रै निर्वाचन हुनुपर्छ ।”
उनले निर्वाचनको तयारी गर्न कुनै बाधा नभएको भन्दै वैशाखमै निर्वाचन गराउन सकिने सुनाए । सत्ता पक्षीय गठबन्धन अझै पनि निर्वाचनको विषयमा शङ्काको घेरामा रहेको उनको भनाई छ ।
उनले भने,“गठबन्धनको निर्णयले निर्वाचनको तिथि घोषणा हुँदैन । त्यसैले क्याबिनेटले मिति घोषणा गर्नुपर्छ । संसद् चल्न नदिएको होइन, अहिलेको गठबन्धनले नै सार्दै सार्दै आएको छ । सत्ता पक्षीय र प्रतिपक्षीबिच वार्ता हुनुपर्छ । हामी सधैँ यसको लागि तयार छौँ ।”