१६ औं आइओएफटीसी : भारतीय टिम मेलबर्न आइपुग्यो
मेलबर्न, अस्ट्रेलिया / १६ औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) मा भाग लिने भारतीय टिम शुक्रवार बिहान अस्ट्रेलियाको मेलबर्नसम्म आइपुगेको छ।
प्रशिक्षक शिवराज धर्तीका अनुसार ११ जना खेलाडीले १६ औं आइओएफटीसीमा प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिप शनिवार र आइतबार मेलबर्नको सनसाइन वेस्ट हुँदै छ ।
भारतीय टिमलाई आइओएफटीसी हेडक्वाटरका डाइरेक्टर ग्राण्डमास्टर दिवाकर डान महर्जन, १६ औं आइओएफटीसी संयोजक तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया भिक्टोरिया स्टेट संयोजक मास्टर महादेव धानुकले स्वागत गरेका थिए ।
भारतीय टिमका प्रशिक्षक धर्तीले आइओएफटीसी जस्ता प्रतियोगिताले खेलाडीलाई एक्सपोजर दिने भएकाले आफूहरूले लामो यात्रा तय गरेको बताए ।
अमेरिकाको पोर्टल्यान्डमा मुख्य कार्यालय रहेको आइओएफटीसीले हरेक दुई वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा यस पटक आयोजक अस्ट्रेलियासहित नेपाल, भारत, अमेरिका र संयुक्त अरब इमिरेट्सका खेलाडी सहभागी हुनेछन्।
विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) को नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधामा प्रतिस्पर्धा हुनेछ।
सिनियर पुरुष र महिलातर्फ समान आठ–आठ तौल समूहमा खेल हुनेछ। जुनियरतर्फ महिला र पुरुषका समान दस–दस तौल समूह तथा क्याडेटतर्फ पनि दस–दस तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।
सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन विधामा खेल हुनेछ। यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि समावेश गरिएको छ।च्याम्पियन टिमले ट्रफी सहित नगद पुरस्कार पाउने छन् ।
आइओएफटीसीले स्थापनाकालदेखि नै एक संस्करण अमेरिकामा र अर्को संस्करण अमेरिकाबाहिर आयोजना गर्ने परम्परा कायम राख्दै आएको छ।
च्याम्पियनसिपको पहिलो संस्करण सन् २००० मा काठमाडौंमा भएको थियो ।
यस क्रममा अमेरिकाको पोर्टल्यान्डमा पाँच संस्करण र नेपालमा पाँच संस्करण आयोजना भइसकेका छन्। त्यस्तै भारत, बेलायत, हङकङ, अमेरिकाको मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करण सम्पन्न भएका छन्।



















