ओएनएफ अमेरिकाको चुनाव हाइब्रिड, प्रतिनिधिको नाम गोप्य

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको चुनाव हाइब्रिड माध्यमबाट हुने भएको छ। यसै गरी ओएनएफले आफ्नो अधिवेशनका लागि छानिएका प्रतिनिधिहरूको नाम सार्वजनिक नगर्ने भएको छ।
ओएनएफको चौथो अधिवेशन मे ३१ र जुन १ तारिख अमेरिकाको टेक्ससमा हुँदै छ।
अधिवेशनका बारेमा जानकारी दिन आइतबार भर्चुअल मार्फत आयोजित पत्रकार सम्मेलनमा ओएनएफका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले यस पटक भौतिक र अनलाइन दुवै तर्फबाट मतदान गर्न सकिने गरी व्यवस्था गरिएको बताए।
ओएनएफले निर्वाचनमा पहिलो पटक हाइब्रिड व्यवस्था गर्न लागेको हो।
सन् २०१३ मा न्यु योर्कमा भएको पहिलो अधिवेशनमा सञ्जय थापा अध्यक्षमा निर्विरोध भएका थिए। उपाध्यक्ष र सचिवमा चुनाव भएको थियो। त्यो समय भौतिक रुपमा उपस्थित प्रतिनिधिहरूले मात्र मतदान गरेका थिए।
यस्तै बाल्टिमोरमा भएको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा नै चुनाव भएको थियो। अध्यक्षमा प्रभु थापाले जनक रानालाई हराएका थिए। वरिष्ठ उपाध्यक्षमा टेक गुरुङले प्रीति सागर खत्रीलाई हराएका थिए। त्यो समय पनि भौतिक रुपमा उपस्थित प्रतिनिधिले मतदान गरेका थिए।
तेस्रो अधिवेशनमा कृष्ण लामिछानेको अध्यक्षतामा सिङ्गो कार्यसमिति नै निर्विरोध चयन भएको थियो।
यस पटक अधिवेशनको दुई साता अगाडि चुनावका लागि नयाँ विधि प्रयोग गर्ने निर्णय गरिएको हो। गत शनिवार बसेको ओएनएफए अमेरिकाको केन्द्रिय कमिटी बैठकले हाइब्रिडमा चुनाव गर्ने प्रस्तावलाई मान्यता दिएको अध्यक्ष लामिछानेले बताए।
बैठकमा अध्यक्ष कृष्ण प्रसाद लामिछाने आफैले प्रस्ताव लगेका थिए।
ओएनएफको भावी अध्यक्षका लागि शुरुमा चार जनाले दावेदारी गरेका थिए।
तर केन्द्रिय कमिटीको पछिल्लो बैठकमा वर्तमान उपाध्यक्ष मैयाँ ढुङ्गानाले पनि अध्यक्षमा दावेदारी गरेको पत्रकार सम्मेलनमा लामिछानेले बताए।
अध्यक्ष लामिछानेले हाइब्रिड चुनावलाई लिएर कुनै शङ्का गर्नु नपर्ने बताए।
‘यो कुनै उम्मेदवारलाई रोक्न वा कसैलाई सहयोग गर्नका लागि हुँदै होइन।‘ उनले भने, ’हामीले सबै प्रतिनिधिको मताधिकारलाई सुरक्षित गर्नका लागि यो विधि अपनाउने भएका हौ। हाम्रा केही केन्द्रिय कमिटी सदस्य नेपालमा हुनुहुन्छ, अमेरिकामा रहेका पनि कोही पारिवारिक कारण टेक्सस जान नपाउने देखियो।‘
लामिछानेले आफूहरूले नेपाल सरकारलाई सन्देश दिन खोजेको दाबी समेत गरे।
‘हामीले नेपालको आम चुनावमा विदेशमा रहेकालाई पनि भोट दिन पाउनु पर्छ भनेर लविङ्ग गरेका छौ। यो अभ्यास हामीले अमेरिकाबाट शुरु गर्यौ भने भोली नेपालमा पनि दबाब दिन सक्छौ।‘उनले भने।
अनलाइनबाट भोटिङ कसरी गर्ने भन्नेमा भने अहिले सम्म कुनै टुङ्गो नलागेको अध्यक्ष लामिछानेले बताए।
‘यो अव निर्वाचन कमिटीले टुङ्गो लगाउँछ। ‘लामिछानेले भने, ‘निर्वाचन कमिटीमा मङ्गलदास श्रेष्ठ, कुलमणि आचार्य, डा. निर्मल पौडेल, कृष्ण भण्डारी र बुद्ध लामा छन्। यो पाँच जनाको बीच बैठक राखेर टेक्सस नजानेले कसरी भोट गर्ने भन्नेमा टुङ्गो लाग्छ।‘
अनलाइन नै भोटिङ गर्न भए पछि सबै सदस्यलाई नै भोट दिने व्यवस्था किन गर्नु भएन भन्ने प्रश्नमा अध्यक्ष लामिछानेले त्यस तर्फ यो पटक सोच नै नआएको बताए।
यसै बीच अध्यक्ष लामिछानेले अधिवेशनमा मतदान गर्ने प्रतिनिधिको नामा सार्वजनिक नगरिने बताए।
‘यो गोपनीयताको पनि कुरा भयो, साथीहरूले बाहिर नलैजाऊ भन्नु भयो, केन्द्रिय कमिटीका सबैलाई प्रतिनिधिको नामा थाहा छ।’ लामिछानेले भने।
उनले चुनावमा सबै भन्दा पहिला सर्वसम्मतिका लागि प्रयास हुने बताए।
ओएनएफद्वारा आयोजिता पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ती जस्ताको त्यस्तै
१.ऐतिहासिक पृष्ठभूमि र आउने अधिबेशनको कार्यक्रमको बारेमा
अमेरिकामा रोजगारी, पेसा, व्यवसाय वा अध्ययन गर्ने सिलसिलामा स्थायी वा अस्थायी रूपले बसोबास गरिरहेका नेपालीहरूबीच आपसी एकता, सद्भाव र मैत्रीपूर्ण सम्बन्धको विकास र विस्तार गर्न तथा नेपाली समुदायको सामूहिक हकहितका लागि एकीकृत रूपमा सङ्गठित भई आवाज बुलन्द गर्न, स्थानीय जनसमुदायसँग सुमधुर र प्रगाढ सम्बन्ध बनाई यहाँको सरकार तथा सरोकारवाला निकायहरूसँगको सम्पर्क र सम्बन्धलाई विस्तार गरी नेपाली समुदायको हितमा प्रभावकारी ढंगले काम गर्नको लागि दर्ता गरिएको ५०१ (सी)(३) गैरनाफामुखी सामाजिक संस्था प्रवासी नेपाली मंच, अमेरिका हो।
उक्त संस्थाको प्रारम्भिक स्वरूप सन् १९९८ मा एटलान्टामा स्थापित “नेश्नल डेमोक्रेटिक फोरम (एनडीएफ)” बाट भएको हो। विभिन्न चरणहरू हुँदै २०१२ मा प्रवासी नेपाली मंच, अमेरिकाको नाममा दर्ता भएको छ।
यस संस्थाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय तथा नेपालमा रहेका नेपालीहरूप्रति समर्पित रही सामाजिक उत्थान र सहयोगका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थापनादेखि नै प्रवासी नेपाली मंचले नेपाली डायस्पोरालाई एकताबद्ध गर्ने, अमेरिकी लोकतन्त्रका मूल्यहरूलाई आत्मसात गर्न प्रोत्साहित गर्ने तथा विविधतापूर्ण संस्कृतिको सम्मान र उत्सव मनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
संयुक्त राज्य अमेरिकाभर रहेका नेपालीहरूले अमेरिकी सपना प्राप्तिको यात्रामा निरन्तर परिश्रम गरिरहेकाछन्। यस साझा यात्रालाई सहज र फलदायी बनाउने उद्देश्यका साथ प्रवासी नेपाली मंच सधैं सक्रिय, प्रभावशाली र समुदायमा उच्च सम्मान प्राप्त संस्था रहँदै आएको छ।
यस संस्थाको प्रथम अधिवेशन २०१३ मा न्यूयोर्कमा, दोस्रो २०१७ मा बाल्टिमोरमा, र तेस्रो २०२२ मा बोस्टनमा सम्पन्न भयो। अब हुने चौथो अधिवेशन मे ३१ र जुन १, २०२५ को लागि तय गरिएको छ।
उक्त कार्यक्रमको उद्घाटन प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका अध्यक्ष संजय थापा ज्युले गर्नु हुने छ। मे ३१ सनिबार दिनको ठिक २ बजे उद्घाटन कार्यक्रम सुरु हुने छ। उक्त कार्यक्रममा उद्घाटन, विभिन्न सस्थाबाट कार्यक्रम सफलताको शुभकामना, विभिन्न बिषयमा कार्य पत्र प्रस्तुत तथा सास्कृतिक कार्यक्रम सहित कार्यक्रम समापन गरिने छ।
दोश्रो दिनको कार्यक्रमममा सांगठानिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन बारेमा छलफल तथा अनुमोदन, नयाँ कमिटीको निर्वाचन तथा तेश्रो अधिबेशन बाट निर्वाचित कमिटीले गरेका कामहरुको समिक्षा र नयाँ कमिटीले गर्ने कामको कार्य योजना पनि बनाउने छ।
२. संक्षेपमा
प्रवासी नेपाली मंच, अमेरिका, नेपाली समुदायको एक समर्पित, संगठित, र प्रगतिशील संस्था हो। चौथो अधिवेशनमार्फत संस्थालाई अझ सुदृढ बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति संवादमा प्रभावकारी उपस्थिति जनाउने लक्ष्य राखिएको छ। सदस्य संख्या, युवा सहभागिता, नागरिकता अधिकार र नेपालको समावेशी समृद्धिमा योगदान प्रवासी नेपाली मंचको मूल ध्येय हो।
३. सांगठनिक संरचना र विस्तार
तेस्रो अधिवेशनपछिको नेतृत्वमा ३८ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको थियो । मुख्य संगठन संरचना:
– १३ सदस्यीय सचिवालय
– १७ सदस्यीय सल्लाहकार समिति, ५ सदस्यीय बुद्दिजीबी बिभाग
– १८ राज्य कमिटी, २७ वटा राज्यहरुमा प्रबासी नेपाली मंच, अमेरिकाको सम्पर्क रहेको
सदस्यता विवरण (अप्रिल १५, २०२५ सम्म): कुल ८६३ सदस्य नवीकरण भएका छन्। टेक्सासमा सबैभन्दा धेरै सदस्यहरु छन्।
४. प्रमुख कार्यक्रम र उपलब्धिहरू
नीति संवाद र अन्तर्क्रिया:
– दोहोरो नागरिकता, रेमिटेन्स, लगानी र कर प्रणाली सम्बन्धी अन्तर्क्रिया
– स्मार्ट एनआरएनए एमआइएस प्रणालीमा तालिम,
समाजसेवा र सहयोग:
– प्राकृतिक विपत्तिमा सहयोग –
भूकम्पमा सहयोग, कोभिटको समयमा पोखरा अक्सिजन प्लान्ट बनाउन सहयोग
विभिन्न समयमा अमेरिकामा प्रवासी नेपाली मंचका सदस्यहरु तथा समर्थकलाई आर्थिक सहयोग
जाजरकोटको स्वास्थ्य चौकी बनाउन उल्लेखीय रकम सहयोग गरिएको
श्रमिक राहत कोष स्थापनाको लागि प्रवासी नेपाली मंच अमेरिकाले सहयोग गरेको
टेक्सास र क्यालिफोर्नियामा कन्सुलेट अफिस खोल्नको लागि प्रधानमन्त्री संग लबिंग गर्ने र विभिन्न संघ सस्था संग मिलेर नेतृत्व दाहि मूमिका खेलेको
तलका विभिन्न बिषयमा साधारण सभामा छलफल, पेपर प्रिजेंट भएको थियो।
– राष्ट्रियता, सुशासन र भ्रष्टाचारविरोधी अभियानमा समर्थन
– दोहोरो नागरिकताको सुनिश्चितता
– प्रवासी सीप तथा लगानी नेपालमा ल्याउने र
– युवालाई संलग्न गराउने
– शिक्षा तथा शैक्षिक संस्थासँग सहकार्य
– व्यावसायिक र सामाजिक कार्यक्रमहरू सञ्चालन
– बंशजका आधारमा नागरिकता निरन्तरता माग