एनआरएनए अमेरिकामा फेरि विवादास्पद काम, कार्यसमिति छलेर सदस्यता खुलाइएको सूचना

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा फेरि विवादास्पद काम भएको छ।
कार्यसमितिको निर्णय विना नै अध्यक्ष अर्जुन बन्जाडेले सदस्यता खुलेको सूचना जारी गरेका छन्। पाँच दिन अगाडि वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीको निजी फेसबुक पेजमा सदस्यता खुलेको जनाकारी गराइएको थियो।
लगतै महासचिव रामहरि अधिकारी र कोषाध्यक्ष सरोज सिग्देलले विज्ञप्ति जारी गरी सदस्यता सम्बन्धी कुनै निर्णय नभएको जनाएका थिए। दुई दिन अगाडि मात्र अध्यक्ष डा. अर्जुन बन्जाडेले निजी फेसबुक पेजमा ‘लाइभ’ मार्फत एमआइएस प्रणालीबाट सदस्यता खोल्नुको विकल्प नभएको र आफूले सचिवालयको बैठक बोलाएको जानकारी दिएका थिए।
बुधवार बिहान एनआरएनए अमेरिकाको आधिकारिक फेसबुक पेजमा सचिवालयको बैठकको निर्णय भन्दै सार्वजनिक गरिएको छ।
जसमा यस अगाडि एमआइएस प्रणालीबाट सदस्यता खुलाउने निर्णय सर्वसम्मतिले पारित गरेको जनाएको छ।
‘आगामी जुलाईमा सम्पन्न हुने एनआरएनए एनसीसीको २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि सदस्यता वितरण तथा नवीकरणको कार्य विगत निर्वाचनमा प्रयोग भएको एमआइएस प्रणाली प्रयोग गरेर गर्ने निर्णय सर्वसम्मतिले गरियो।‘ एनआरएनए अमेरिकाको फेसबुक पेजमा राखिएको सूचनामा भनिएको छ।
सचिवालय बैठकमा युवा उपाध्यक्ष अनुप खनाल, महासचिव रामहरि अधिकारी र कोषाध्यक्ष सरोज सिग्देल अनुपस्थित छन्। जानकारहरूका अनुसार कार्यसमितिमा बहुमत नपुग्ने भएकाले अध्यक्ष बन्जाडेले सचिवालय बैठकबाट मात्र सदस्यता खुलाउने निर्णयमा पुगेका हुन्।
एनआरएनए अमेरिकाको २०२२ मा नर्थ क्यारोलिनामा भएको साधारण सभाले एमआइएस प्रणालीबाट सदस्यता बनाउने निर्णय गरेको थियो।
एमआइएस प्रणाली एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा डा. बद्री केसी समुहको स्वामित्वमा छ। यसै प्रणालीबाट विश्वभर सदस्यता बनाउँदै आइएको छ।
आइसीसीमा आधिकारिता सम्बन्धी विवाद चरम रुपमा भए पछि एनआरएनए अमेरिकाको गत वर्ष मेरिल्याण्डमा सम्पन्न साधारण सभाले आफ्नै पोटल गरी जनवरी देखि नै सदस्यता वितरण गर्ने निर्णय गरेको थियो।
विधानमा एमआइएस प्रणालीमा सदस्यता खुलाउन दुई तिहाइले अनुमोदन गर्नु पर्ने उल्लेख छ।
त्यसो त विधानले जनवरी देखि नै सदस्यता खुलाउने भनिए पनि महासचिव रामहरि अधिकारीले समयमा नै आफ्नै पोर्टल बनाउन नसक्दा पनि अहिले समस्या आएको जनाइएको छ।
पछिल्लो समय महासचिव अधिकारीले आफूले पोर्टल तयार पारेको दाबी गर्दै आएका छन्। तर अध्यक्ष बन्जाडे समूह जसरी पनि एमआइएस प्रणालीबाट सदस्यता खुलाउने अडानमा थियो।
अध्यक्ष बन्जाडेले यस अगाडि आइटीकोअडिनेटरको नियुक्ति गरेर शपथ ग्रहण समेत गराएका थिए। त्यो बेलामा पनि उनले कार्यसमिति छलेका थिए। महासचिव अधिकारीले त्यो निर्णय कार्यान्वयन हुन दिएनन्।
यस्तै अध्यक्ष बन्जाडेले गरेको सल्लाहकारको नियुक्ति पनि कार्यान्वयन हुन सकेको थिएन्। आइसीसीको विवादका कारण एनआरएनए अत्यन्त आलोचित हुँदै आएको छ।
अमेरिकामा यस अगाडि नै दुई वटा एनआरएनए आइसीसी सक्रिय छन्। त्यस्तोमा डा. बन्जाडेले अध्यक्ष रहेको संस्थामा सदस्यता खुलाउने विषयले विवादको चरम रूप लिएको हो।
एनआरएन अमेरिकाको सचिवालय बैठकको निर्णयका पूर्ण पाठ
सम्पूर्ण गैर आवासीय साथीहरू
नमस्ते !
एन आर एन ए अमेरिकाको सचिवालयको मे१९, २०२५ मीटिंग का निर्णयहरू –
उपस्थिति:
सचिवालयका १६ सदस्यहरूमध्ये १३ सदस्यको उपस्थिति रहेको थियो।
अध्यक्षता: डा. अर्जुन बन्जाडे
उपस्थित पदाधिकारीहरू:
• वरिष्ठ उपाध्यक्ष: विकास उप्रेती
• उपाध्यक्षहरू: ज्ञानेन्द्र गुरुङ, प्रेम तामाङ, भानु खरेल, नेत्र पाण्डे
• महिला उपाध्यक्ष: सुनिता कँडेल
• सचिव: दीपक सापकोटा
• महिला सचिव: शान्ति पौडेल
• सह–कोषाध्यक्ष: दिवाकर पाण्डे
• महिला को–अर्डिनेटर: सुनिता खत्री
• यूथ को–अर्डिनेटर: तेज विनोद पौडेल
• प्रवक्ता: डा. राजन पन्त
निर्णयहरू:
१. सदस्यता वितरण तथा नवीकरण:
आगामी जुलाईमा सम्पन्न हुने एनआरएनए एनसीसीको २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि सदस्यता वितरण तथा नवीकरणको कार्य विगत निर्वाचनमा प्रयोग भएको एमआइएस प्रणाली प्रयोग गरेर गर्ने निर्णय सर्वसम्मतिले गरियो।
२. सदस्यता प्रमाणीकरण समिति गठन:
सदस्यता प्रमाणीकरणका लागि प्रारम्भिक रूपमा निम्न ३ जना सदस्य रहने निर्णय गरियो:
• डा. अर्जुन बन्जाडे – अध्यक्ष
• विकास उप्रेती – वरिष्ठ उपाध्यक्ष
• डा. राजन पन्त – प्रवक्ता
आवश्यकताअनुसार कार्यभारको परिस्थितिलाई ध्यानमा राखी यस समितिमा अन्य सदस्य थप गर्न सकिनेछ।
३. सदस्यता अभियान समिति
आगामी निर्वाचनका लागि सदस्यता अभियानलाई व्यवस्थित र सक्रिय बनाउन वरिष्ठ उपाध्यक्ष विकास उप्रेती को नेतृत्व मा एक समिति गठन गरियो। यसमा कार्यसमिति साथीहरू र अन्य सदस्यहरु समावेश हुनेछन्।
साथै, प्रत्येक राज्यको राज्य समितिका अध्यक्षलाई आफ्नो राज्यको संयोजकका रूपमा कार्य गर्ने जिम्मेवारी तोकिएको छ।
४. निर्वाचनका प्रमुख मितिहरू:
क) सदस्यता वितरण अवधि:
मे २०, २०२५ देखि जुन २०, २०२५ सम्म।
ख) सदस्यता प्रमाणीकरण अवधि:
जुन २१–३०, २०२५ भित्र सदस्यता प्रमाणीकरण कार्य सम्पन्न गरी विवरण निर्वाचन समितिलाई बुझाउने।
ग) निर्वाचन मिति:
२०२५–२०२७ कार्यकालको निर्वाचन जुलाई १९ (शनिबार) र २० (आईतबार) मा सम्पन्न गर्ने।
घ) अधिवेशन मिति:
आगामी अधिवेशन जुलाई २६ (शनिबार) र २७ (आईतबार) मा सम्पन्न गर्ने।
नोट: माथि उल्लेखित निर्वाचन र अधिवेशन मितिहरूमा आवश्यक परेमा परिवर्तन हुन सक्नेछ, जसको अन्तिम निर्णय निर्वाचन मण्डलले गर्नेछ।