युएस ओपनमा डिस्कालाई दुई स्वर्ण
ह्यारिसबर्ग/ अमेरिकी राष्ट्रिय टिमबाट खेल्ने सपना अधुरै भए पनि ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (डिस्का) खेलाडीले युएस ओपनबाट दुई स्वर्ण पदक जितेको छ।
लस भेगासमा तीन दिन लगाएर सम्पन्न प्रतियोगितामा डिस्का पिट्सबर्ग डोजो पेन्सिल्भेनियाकी रिया विष्टले इन्टरमिडियट डिभिजनमा कातामा स्वर्ण जितिन्।
आइतबार साँझ भएको प्रतिस्पर्धामा १६ वर्षकी रियाले सोही डिभिजनको कुमुतेमा रजत पाइन्।
रियाले शुक्रवार सम्पन्न जुनियरमा च्याम्पियनसिपमा पनि इन्टरमिडियट डिभिजनमा काता र कुमुते दुबैमा स्वर्ण पदक जितेकी थिइन।
डिस्का डोजो कारलय पेन्सिल्भेनियाका एसविनले युएस ओपनमा इन्टरमिडियट डिभिजनमा कुमुतेमा स्वर्ण पदक जिते।
डिस्का पिट्सबर्ग डोजोका दिवाकर नेपालले युएस ओपनको इन्टरमिडियट डिभिजनमा कुमुतेमा कास्य पदक जिते। उनले यस अगाडि जुनियरमा च्याम्पियनसिपमा स्वर्ण जितेका थिए।
हम्बो डोजो ह्यारिसबर्ग पेन्सिल्भेनियाका सुयोग राईले युएस ओपनमा नोभिस डिभिजनमा कास्य जिते। उनले जुनियरमा एक स्वर्ण र एक कास्य पदक जितेका थिए।
ह्यारिसबर्गकै परिशा दाहालले युएस ओपनको एड्भान्स डिभिजनमा कुमुतेमा कास्य पदक पाइन। यस्तै डिस्का डोजो भर्मन्टका एन्जल गुरुङ युएस ओपनमा एड्भान्स डिभिजनमा कास्य पदक पाए। भर्मन्टकै अनिशा न्यौपाने युएस ओपनमा इन्टर मिडिएटमा कास्य पदक पाइन्।
डिस्का कारलयका करिष्मा लुइँटेलले युएस ओपनमा एड्भान्स तर्फ कुमुतेमा कास्य पदक जिते। कारलयकै रायन मोहराले युएस ओपनमा नोभिस तर्फ कुमुतेमा कास्य, केजङ गुरुङले इन्टर मिडिएट तर्फ कातामा कास्य, फिलिप तामाङले नोभिष तर्फ कातामा कास्य पदक जिते।
डिस्काका प्रमुख प्रशिक्षक रन राईका अनुसार युएस ओपन र जुनियरबाट गरी डिस्काले कुल २८ पदक ल्याएको छ।
‘हाम्रा ३० जना खेलाडीले भाग लिएका थिए, त्यस मध्ये कुल आठ स्वर्ण, पाँच रजत र १५ कास्य गरी २८ पदक जितेका छन्। यो राम्रो प्रयास हो।‘ मुख्य प्रशिक्षक राईले भने।
उनका अनुसार एलिट डिभिजनमा आश गरिएका तीन खेलाडी भने क्वाटर फाइनलमा नै रोकिएको बताए।
‘कडा प्रतिस्पर्धा भयो, राष्ट्रिय स्तरका खेलाडी सँग हाम्राले यस पटक सकेनन्, तर हामी अब नेश्नल च्याम्पियनसिपमा प्रयास गर्छौ।‘ मुख्य प्रशिक्षक राईले भने।