काठमाडौँमा राप्रपाको प्रदर्शन, तीनकुने घट्नाको छानबिनको माग
काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन र बिना कारण पक्राऊ परेकाहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबाबमूलक प्रदर्शन गरेको छ ।
शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणालगायत बन्दीहरू रिहाइ, मृतकहरूलाई शहीद घोषणालगायतका माग राखेर दबाबमूलक प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछिको सभामा बोल्दै राप्रपाका नेता प्रकाश चन्द्र लोहनीले देशमा सुशासनका नाममा दुशासकहरु बढेको बताए । उनले सत्तामा बसेकाहरूले जनता बेचेको आरोप पनि लगाए ।
उनले भने, ‘यो राष्ट्रमा सुशासन होइन कुशासन बढेको छ । दुशासकहरु धेरै बढेका छन् । जसले गर्दा अर्बौँ रुपैंयाँ नेपाली जनता ठगिएका छन् । नेपालीहरूलाई विदेशी बनाएर सत्तामा बस्नेले बेचेका छन् ।’
उनले प्रजातन्त्रको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग गरिरहेको पनि बताए ।
‘प्रजातन्त्र भनेको गरिब जनताको हित गर्ने हो । त्यहाँ भुईँ मान्छेको हित गर्ने हो तर त्यो नभएर सीमित व्यक्तिको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग भएको छ । प्रजातन्त्रको नाममा यसो गर्न पाइँदैन,’ उनले भने ।
प्रदर्शन काठमाडौँको सुनधारादेखि शान्ति बाटिकासम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनकारीहरूले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गरेका छन् ।