कुलमानलाई हटाएर सरकारको औचित्य समेत समाप्त भएको छ : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको बताएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले दुई–तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभता, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको जनाएको छ ।
‘दह्रो र गहिरा सुधार होइन निहित स्वार्थ समूहको नियन्त्रणमा लगिँदै गरेको अर्थतन्त्र, बेरोजगारी, दलीय करण र शासकीय अक्षमताका कारण थलिएको सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिति; एकातिर भ्रष्टाचार र दोहनको फैलँदो जालो र अर्कोतिर राज्यका सबै अङ्गहरूमा गरिएको कब्जाबाट सिर्जित दण्डहीनता; नयाँ दल, अभियान र अभियन्ताहरूमाथि राज्यका सबै अङ्गहरूको अस्त्रीकरण गर्दै साँधिएको राजनीतिक प्रतिशोध, निषेध एवं झुठा मुद्दाको अनैतिक प्रहार; गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवं असफल कूटनीति र लगभग दुई–तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभता, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारले बदनियत पूर्वक बर्खास्त गरेको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण भएको पनि जनाएको छ ।
विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष रहेको छ ।
भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुने रास्वपाले जानकारी दिएको छ ।