क्यालिफोर्नियामा नेपाली कम्युनिटी सेन्टर स्थापना,दिक्पाल केसीले दिए ५० हजार डलर सहयोग
गणेश थापा
क्यालिफोर्निया / अमेरिकामा पछिल्लो समय नेपालीहरूको जनसंख्या र बसोबास बढ्दो क्रममा छ ।
समुदायको बाक्लो उपस्थितिसँगै आफ्ना सामाजिक, धार्मिक तथा परम्परागत संस्कार एवं रीतिरिवाज लगायतका विभिन्न कार्यक्रम गर्न आवश्यक पर्ने सामुदायिक भवन संरचना निर्माण गर्ने सिलसिला समेत बढिरहेको छ ।
यस क्रममा अमेरिकीको पश्चिम राज्य क्यालिफोर्नियामा नेपाली कम्युनिटी सेन्टर स्थापना गरिएको छ ।
१.८६ मिलियन डलरमा रिचमण्ड सिटीमा खरिद गरिएको उक्त सामुदायिक भवनको आज विधिवत् रूपमा उद्घाटन तथा गृह प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
सो सामुदायिक सेन्टर स्थापनाका लागि ५ सय बढी नेपालीहरूले करिब ८ लाख डलर सहयोग स्वरूप दिएको नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाका पूर्व अध्यक्ष तथा एनआरएनए आइसिसी मेम्बर उत्तम कार्कीले बताए ।
सान फ़्रान्सिस्कोमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारी दिक्पाल केसीले सबैभन्दा बढी ५० हजार डलर डोनेसन गरेको बताइएको छ।
यस्तै एनआरएनए अमेरिकाका पश्चिम क्षेत्रीय अध्यक्ष विष्णु केसीले स्वर्गीय आमाको सम्झनामा सामुदायिक सेन्टरका लागि आवश्यक छुट्टै संरचना बनाएर १०औँ हजार डलर बराबर सहयोग गरेका सो संस्थाले जनाएको छ ।
एक सय ३० भन्दा बढी सवारी साधन पार्किङ गर्न सकिने स्पेससहितको उक्त भवनमा एउटा कार्यक्रम हल, ५ वटा अफिस कोठा, डाइनिङ लगायतका सुविधा रहेको कार्कीको भनाई छ ।
यस सामुदायिक सेन्टरबाट यहाँ बसोबास गर्ने हजारौँ नेपालीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा लिन सक्ने उनले बताए ।