अमेरिकाको दुई राज्यबाट आठ नेपाली पक्राउ
पेन्सिल्भेनिया/ अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) ले यसै साता टेक्सस र लुजियानामा गरी आठ जना नेपाली पक्राउ गरेको छ।
न्यु योर्कमा रहेका एक नेपाली कानुन व्यावसायिक अनुसार टेक्ससबाट तीन जना नेपाली पक्राउ परेका छन्। उनीहरू आइस चेकमा (तारिखमा) जाँदा पक्राउ परेका हुन्।
लुसियामा भने आइसले छापा मार्दा पाँच जना पक्राउ गरेका हुन्।
‘अहिले सम्म नेपाली आठ जना पक्राउ गरेको हाम्रो जानकारीमा आएको छ, केही मुद्दा हामीले हेर्दै आएका हौ।’ ती कानुन व्यवसायीले भने।
पक्राउ परेका सबै जना अमेरिका प्रवेश गरेको दुई वर्ष भन्दा कम समय भएको जनाइएको छ।
‘ती सबै असाइलम फाइल गरेका (शरण मागेका) हुन्, वर्क परमिट पनि थियो तर समातियो भनेर उनी निकटहरूले हामीलाई फोन गरे, बाँकी हामी पनि बुझ्दै छौ।‘ ती कानुन व्यवसायीले भने, ’अमेरिका प्रवेश गरेका दुई वर्ष भन्दा कम समय भएकालाई अहिले निसाना बनाइएको छ।‘
पक्राउ गरेकाहरूलाई डिपोट नै गर्छ या थुनामा रहेर मुद्दा लड्न पाउँछन् भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको तीन कानुन व्यवसायीले बताए।
यसै बीच आइसले मंगलवार एक सय १८ जना गिरफ्तार भएको सार्वजनिक गरेको छ।
‘आइसले ह्युस्टनको उत्तरमा रहेको कोलोनी रिज विकासमा बहु-एजेन्सी प्रवर्तन अपरेशनको नेतृत्व गर्यो जुन यसको कार्टेल गतिविधि र अवैध विदेशी जनसंख्याको लागि परिचित छ। अपरेशनको परिणामस्वरूप एक सय १८ जना गिरफ्तार’ आइसको सामाजिक सञ्जालमा भनिएको छ।
पक्राउ परेकाहरूको आरोप र अभियोगमा आपराधिक यौन आचरण, हत्या, चोरी, लापरबाहीपूर्ण हत्या, बाल यौन दुर्व्यवहार, नैतिक पतनका अपराधहरू, हतियार अपराधहरू र लागूपदार्थ अपराधहरू रहेको जनाएको छ।