स्वास्थ्यको गुणस्तरमा कहीँ कतै सम्झौता हुदैँन्’
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहीँ कतै सम्झौता नगर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नेपाल मेडिकल कलेजको २५ औँ वार्षिकोत्सव समारोहमा उनले उपचार पद्धतिमा गुणस्तरको कुरा आउन नहुने भन्दै गुणस्तरीयतामा कहीँ कतै सम्झौता नहुने गरी यसको क्षमता जति छ त्यति जनशक्ति उत्पादन गर्ने स्वीकृति दिनुपर्ने बताए ।
उनले भने, ‘खासगरि स्वास्थ्यमा गुणस्तरीयता भन्ने शब्द प्रयोग गर्नै नपर्ने हो । स्वास्थ्य गुणस्तरहीन हुनै सक्दैँन् । हामी गुणस्तरीय औषधी भन्छौ, गुणस्तरहीन औषधी कस्तो हुन्छ पिठोको डल्लो, त्यस कारण यो हाम्रो भाष्य जुन छ यो धेरै दर्दनाक छ । स्वास्थ्य कहिले पनि गुणस्तरहीन हुन सक्दैँन् । उपचार पद्धतिमा नै गुणस्तरको कुरा गर्नुपर्ने अवस्था भएपछि यहाँ समस्या छ भन्ने कुरा बुझ्नु पर्छ । त्यस कारण गुणस्तरीयतामा कहीँ कतै सम्झौता नहुने गरी यसको क्षमता जति छ त्यति जनशक्ति उत्पादन गर्ने स्वीकृति दिनुपर्छ ।’
यसको साथै, उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास भए पनि नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन नसकेको बताए ।
उनले भने, ‘हामी थुप्रै राजनीतिक दलले समाजवादको कुरा गर्छौ । आम नागरिकले उपचारमा सर्वसुलभता, सन्तुष्ट हुन पाउने गरी उपचार सेवा, सस्तो र नसक्नेले निशूल्क सेवा लिन सक्ने अवस्था बनेको छ त यस्ता ठुला संरचनाहरू बनेको छ, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ । तर नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन सकेको छैन । यसको लागि मैले भन्दै आएको कुरा बिमालाई व्यवस्थित गरौँ ।’