विनीता पुरी राईद्वारा स्वतारा टाउनशिप कमिश्नरमा उम्मेदवारी घोषणा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ तेक्वान्दोकर्मी विनीता पुरी राईले अमेरिकाको पेन्सिल्भेनिया राज्यको स्वतारा टाउनशिप कमिश्नरमा उम्मेदवारी घोषणा गरेकी छिन्।
भुटनीज कम्युनिटी अफ ह्यारिसबर्गकी उपाध्यक्ष समेत रहेकी विनीता युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमीको सञ्चालिका तथा प्रशिक्षक हुन्।
‘म तपाईँहरूसँग मेरो आधिकारिक घोषणा साझा गर्न पाउँदा धेरै उत्साहित छु। म स्वतारा टाउनशिप कमिश्नर पदको लागि उम्मेदवारी दिँदैछु।‘बुधवार आफ्नो फेसबुक पेजमा विनीताले लेखेकी छिन्।
समाज टाइम्स सँगको कुराकानीमा विनीताले आफूले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गरेको बताइन् ।
‘पुरा योजना बनाउँदै छु, अहिलेको लागि म टाउनशिप कमिश्नरका लागि प्राइमरीमा उम्मेदवार हुँ।‘विनीताले भनिन्।
प्राइमरी चुनाव मे २० मा हुँदै छ। आम चुनाव भने नोभेम्बर ४ मा हुने छ।
स्वतरा टाउनसिप कमिश्नरमा पाँच सिट रहेको छ। त्यस मध्ये यस पटक दुई सिट खाली हुँदै छ। दुवै सिटमा हाल रिपब्लिकनहरू छन्।
डाउपिन काउन्टीमा पर्ने स्वतरा टाउनसिपमा नेपाली भाषी भुटानी समुदायको बाक्लो बसोबास छ।
‘स्वतारा टाउनशिपका अद्भुत बासिन्दाहरूको प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हुनेछ। मेरो परिवार, साथीभाइ र छिमेकीहरूको समर्थनको धेरै कदर गर्छु।‘विनीताले लेखेकी छिन्, ‘हामी हाम्रो समुदायलाई अगाडि बढाउँछौँ।‘
हाल स्वतारा टाउनशिप प्रहरी विभाग नागरिक सल्लाहकार परिषद्मा रहेकी विनीता श्रीमान् र दुई सन्तान सँगै बस्दै आएकी छिन्।
र यो पनि…