अमेरिकाबाट उडेको डेल्टाको जेट क्यानडामा दुर्घटना : घाइतेको संख्या १७ पुग्यो

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया, अमेरिका / अमेरिकाबाट उडेको डेल्टाको विमान टोरन्टोमा अवतरण गर्ने क्रममा पल्टिदा घाइते हुनेको संख्या १७ जना पुगेको छ।
टोरन्टोको पियर्सन विमानस्थलमा आइपुग्दा सोमबार डेल्टा एयरलाइन्सको विमान पल्टिएको हो। डेल्टाको सामाजिक सञ्जाल एक्समा जनाइए अनुसार घटना दिउँसो स्थानीय समय अनुसार करिब साँढे तीन बजे भएको हो।
‘एन्डेभर एयरद्वारा सीआरजे ९०० विमान प्रयोग गरेर सञ्चालित डेल्टा कनेक्सन उडान ४८१९ सोमबार दिउँसो ३:३० बजे टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थल (वाइवाइजेड) मा एकल-विमान दुर्घटनामा परेको थियो। उडान मिनियापोलिस-सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थल (एमएसपी) बाट उडेको थियो।‘ डेल्टाले सामाजिक सञ्जालमा लेखेको छ।
विमानमा ७६ यात्रु र चार जना चालक दलका सदस्यहरू रहेको बताइएको छ।
“हामी धेरै आभारी छौँ कि कसैले पनि ज्यान गुमाउनु परेन र अपेक्षाकृत सामान्य चोटपटक लागेको थिएन,” ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणका सीईओ डेबोरा फ्लिन्टले पत्रकारहरूलाई बताइन्।
सामाजिक संञ्जालमा बाहिरिएका भिडियोमा हिउँले ढाकिएको विमानस्थलमा डेल्टाको जेट उल्टो परेको देखिएको छ। यस्तै उद्धारकर्ताहरूले यात्रुहरूलाई विमानबाट बाहिर निकाली रहेको देखिन्छ।
विमान किन पल्टियो भन्नेमा आधिकारिक धारणा आएको छैन तर खराब मौषम हुन सक्ने अनुमान गरिएको छ। अधिकारीहरुले दुर्घटनाको समयमा विमानस्थलमा तीव्र गतिमा हिउँ परिरहेको जनाइएको छ।
क्यानडाको मौसम विज्ञानका, विमानस्थलमा ३२ माइल प्रतिघण्टाको गतिमा हिउँ परिरहेको थियो र ४० माइल प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो। तापक्रम लगभग १६.५ डिग्री फरेनहाइट थियो।
यो दुर्घटना उत्तर अमेरिकामा एक महिनामा कम्तिमा चौथो ठूलो हो। जनवरी २९ मा वासिङ्गटन डिसीमा यात्रु वाहक विमान र सेनाको हेलिकप्टर ठोकिएर नदीमा खस्दा ६७ जनाको निधन भएको थियो। जनवरी ३१ मा फिलाडेल्फियामा एक चिकित्सा यातायात विमान दुर्घटनाग्रस्त भयो, जसमा सवार छ जना र जमिनमा अर्का एक व्यक्तिको मृत्यु भयो । त्यस्तै अलास्कामा भएको विमान दुर्घटनामा १० जनाको मृत्यु भएको थियो।