केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैन : चन्द्र ढकाल
काठमाडौँ । उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनै पनि प्रभाव नपारेको बताएका छन् ।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए ।
उनले भने, ‘मिडियाहरूमा माथि फाइभ स्टार होटलहरु छ रे, डेटिङ्हरु बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ । यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ । तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन । यो केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन । यो गलत हो ।’
यसको साथै, उनले कुनै पनि ठाउँमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरू आउनु स्वाभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको बताए ।
उनले भने, ‘केबलकारले नेपाली पर्यटन प्रवर्द्धनमा धेरै सहयोग गर्ने भएको हुनाले नेपालमा सात वटा प्रदेशमा सात वटा पर्यटन पूर्वाधार बनाऔँ भनेर यसको सुरुवात गरेका हौँ । हिँडेर जान समस्या हुने खालको व्यक्तिहरूलाई सहज हिसाबले जान सकोस् भनेर सुरु गरेका हौँ । कुनै पनि ठाउँमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरू आउनु स्वाभाविक पनि हो । त्यसलाई अन्यथा लिनु हुदैँन् ।’
केबलकारले पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने हुनाले भने पाथीभरामा पनि त्यसको निर्माण गरेको उनको भनाई छ ।
उनले भने, ‘हामीले नेपालका सम्मानित क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलो प्रोजेक्टको रुपमा चन्द्रागिरि केबलकार बनाएका थियौँ । केबलकार बनाएपछि त्यहाँको अवस्थामा धेरै सुधार भएको पनि छ । त्यसै गरी सबैको आशाको धरोहर पाथीभरामा सजिलै पहुँच पुर्याउने विषय विचार गरेर नेपालमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबलकार बनाएको हो ।’