इतिहास लेख्दै प्रवीण, अमेरिकामा रहेको नेपाली भाषी भुटानी समुदायबाट नेपालमा व्यावसायिक फुटबल खेल्दै
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकामा रहेको नेपाली भाषी भुटानी समुदायका उम्दा स्ट्राइकर २५ वर्षीय प्रवीण बस्नेतले काठमाडौँ दशरथ रंगशालामा आफ्नो कौशल पस्किने अवसर पाएका छन्।
प्रवीणले अर्को महिना (मार्च २९) देखि काठमाडौँमा हुने नेपाल सुपर लिग ‘एनएसएल’ का लागि झापा एफसीबाट खेल्ने भएका हुन्।
‘हो, हामीले ब्रेक थ्रु गर्यौ। ‘प्रवीणलाई दशरथ रङ्गशालाको मैदानमा उत्रने अवसर जुराउने साग्रिला फुटबल क्लबका अध्यक्ष सोनाम लामाले समाज टाइम्स सँग भने, ‘साग्रिला एफसी र झापा एफसी बिचमा साझेदारी गर्दै जाने भन्ने भएको छ, त्यसै अनुसार हामीले प्रवीणलाई पठाउने भएका।’
नेपालमा शरणार्थी शिविरमा जन्मिएका प्रवीणले आफ्नो अनुबन्धले उत्साहित भएको बताए।
‘यो एउटा सपना हो, हरेक नेपाली भाषी भुटानी खेलाडीको। ‘आफ्नो व्यावसायिक करिअर नै बदल्न सक्ने अवसरका लागि नेपाल जान लागेका प्रवीणले समाज टाइम्स सँग भने, ‘यतै हुर्के बढे पनि म जन्मिएको ठाउँ झापा बाट फुटबल खेल्न पाउँदा उत्साहित छु।’
सांग्रिला फुटबल क्लबका प्रशिक्षक किरण थापाले पनि आफूहरूको लामो समय देखिको चाहाना पुरा हुन लागेको भन्दै खुसी व्यक्त गरे।
’हामी औलामा भाँच्दा अटाउने केही जहिले पनि फुटबलमा निरन्तर लागि रहेका हौ, अमेरिकामा हुने हरेक प्रतियोगितामा हामी सक्रिय छौ, हामी नेपालको फुटबल पनि निहाली रहेका थियौ। ‘किरणले भने, ‘हाम्रा खेलाडीहरूले नेपालमा खेल्नु पर्छ भन्ने मनमा कता कता आउँथ्यो।’
उनले त्यो साइत अव जुरेको बताए। ‘उताको समय यताको समय नमिल्ने, लिगको मिति पनि समयमै सार्वजनिक नहुने भइरहेको थियो। यस पटक दुवै तर्फको अवस्था सहज हुँदै गर्दा सजिलो भयो।‘ किरणले भने।
किरणले आफ्नो समुदायबाट उत्कृष्ट खेलाडी पठाउने क्रममा प्रवीणको छनौट भएको बताए। ‘प्रवीण सांग्रिलाका खेलाडी होइन, तर नेपाल जाँदा साग्रिला भन्दा पनि हाम्रो समुदायको प्रतिनिधित्व हुनु पर्छ भनेर हामीले योजना बन्यौ।’ उनले भने।
प्रवीणले यस अगाडि अमेरिका गएको नेपाली भाषी भुटानी टिमबाट खेलिसकेका छन्। उनको टिमले पोखरामा भएको आहा रारा गोल्ड कप खेलेको थियो।
सन् २०१२ मा अमेरिका आएका प्रवीणले हाइ स्कुल, विश्वविद्यालय र नेपाली भाषीहरूको क्लब स्तरको फुटबल खेलेका छन्। ओहायोमा बस्दै आएका प्रवीणले क्लब फुटबल डेकाटर डेकाल्ब युवा फुटबल क्लब डीडीवाइएसीमा ४ वर्ष खेलेका हुन्। जोन रान्डोल्फ टकर हाई स्कूलमा पनि उनले आफ्नो प्रतिभा पस्कि सकेका थिए।
यस्तै इन्ट्रा कप, पीस जोन,बीएपीसी, एनएसी लगायतका प्रतियोगितामा प्रवीणको टिमले उपाधि नै जितेको छ।
प्रवीण नेपाली क्लबको विदेशी कोटामा खेल्न जान लागेका हुन्। त्यसको सबै चाँजोपाँजो किरण थापा लगायतले मिलाएका हुन्।
‘मेरो भन्दा पनि नेपाली भाषी भुटानी समुदायले देखेको सपना हो यो। धेरै लिजेन्टहरुले देखेको सपना हो, त्यसै अनुसार हामीले प्रयास गरेका हौ। ‘किरणले भने, ‘अमेरिकामा थुप्रै छन् नेपाली भाषी जो नेपालमा गएर कौशल देखाउन चाहन्छ।‘
किरणले अमेरिका नियमित फुटबल खेल्दै आएका नेपाली भाषीका लागि प्रवीणको सहभागिता मार्ग दर्शन हुने बताए।
‘यो अवसर पनि हो किनकि नेपालको फुटबललाई दक्षिण एशियाका अन्य देशले पनि हेरि रहेका छन्। रोहित चन्द, किरण चेम्जोङ्ग विदेशमा गएर राम्रै गरेका छन्। त्यो बाटोमा हाम्रो समुदायका व्यक्ति पनि जाने आधार हुन सक्छ। कति यही मात्र खेल्ने भन्ने हो। ‘किरणले भने।
उनले नेपाली भाषी भुटानी फुटबलको व्यग्र प्रतीक्षाको समय सकिएको अवसरको रूपमा पनि प्रवीणको सहभागितालाई लिएको बताए।