पूर्व प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको माग प्रति एनआरएनए नेताद्वारा आभार
पेन्सिल्भेनिया/ पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा बैठकमा गैर आवासीय नेपाली नागरिकताका बारेमा दिएको अभिव्यक्ति प्रति गैर आवासीय नेपाली संघ एनआरएनएका नेताले आभार व्यक्त गरेका छन्।
दाहालले आफ्नो पालनमा वितरण भएको गैर आवासीय नेपाली नागरिकता अहिलेको कार्यान्वयन नभएकोमा असन्तुष्ट व्यक्त गरेका थिए।
‘नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदमा गैर आवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नु भएको छ। साथै यसका लागि अध्यक्ष प्रचण्ड ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु।’ एनआरएनए नेता कुल आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्।
गैर आवासीय नेपाली नागरिकता लिने पहिलो व्यक्ति बनेका आचार्यले संविधान अनुसार नै गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन गर्न सरकार सँग माग गरेका छ।
‘संविधानले उल्लेख गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी एनआरएन नागरिकता लागू गर्न र व्यवहारिक कठिनाइ तथा वाधा व्यवधान हटाउन तत्काल निर्देशन दिनु हुन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, सम्बद्ध मत्रीज्यूहरु तथा नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछु। ‘ आचार्यले लेखेका छन्।
उनले नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधान राख्न पहल गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद दिँदै अध्यादेशमा रहेको एनआरएनहरूलाई भिसा दिने प्रावधान हटाउन एवम् संविधानले दिएको अधिकार कार्यान्वयन गराउनको लागि आआफ्नो ठाउँबाट पहलकदमी गर्न पनि संसारभरि रहनु भएका एनआरएनलाई आग्रह गरेका छन्।