कोशिस भण्डारीद्वारा पनि बाना अध्यक्षमा उम्मेदवारी घोषणा, संस्थापन पक्ष अझै अलमलमा

बाल्टिमोर / बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को आगामी अध्यक्षका लागि कोशिस भण्डारीले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यस अगाडि जीतेन्द्र गुरुङले बानाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए।
कोशिस नेपाली मुलका पहिलो अमेरिकी सांसद डा. ह्यारी भण्डारीका सहोदर भाइ हुन्। मेरील्याण्ड राज्यसभा डेलिगेट ह्यारी र बानाको संस्थापन पक्ष बीचको सम्बन्ध उतारचढाव रहँदै आएको छ। बानाको अघिल्लो चुनावमा डा. ह्यारी भण्डारी हिरा गुरुङ निकट देखिएका थिए। यस्तै मेरील्याण्ड राज्यसभाको चुनावमा बाना संस्थापन पक्ष ह्यारिको चुनावी अभियानमा देखिएको थिएनन्।
यद्पी ह्यारी भण्डारीले बाना संस्थापन पक्ष सँग आफ्नो सम्बन्ध बिग्रिएको र हिरा गुरुङलाई सहयोग गरेको अस्वीकार गर्दै आएका छन्। बानाको सदस्यता आवेदन दिने मिति सकिएको भोली पल्ट शनिवार कोशिसले अध्यक्षको उम्मेदवार हुने औपचारिक घोषणा गरेका हुन्।
बानामा यस पटक कीर्तिमानी सदस्य भएका छन्। निर्वाचन आयोगका अनुसार पाँच हजार एक सय ९२ जनाले सदस्यता आवेदन दिएका छन्। यो संख्या गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका पछिको सबै भन्दा धेरै हो।
बाना अमेरिकामा क्रियाशील नेपालीहरूको संस्थामा सक्रिय मध्येमा रहँदै आएको छ। सुबोध विलास पन्त दोस्रो कार्यकालमा कार्यरत छन्।
बाना निर्वाचन आयोगले अप्रिल ६ तारिखलाई चुनावको दिन भनेको छ।
‘यो संस्थालाई अझै व्यापक, गतिशील, गोलबद्ध र एकताबद्ध गर्दे अगाडि बढाउन मैले आफ्नो व्यावसायिक ,पारिवारिक जीवनलाई कुशलता पूर्वक अगाडि बढाइरहेको अवस्थामा समुदायका प्रबुद्ध वर्गहरूको समेत आग्रह र अनुरोधमा सामाजिक कार्यमा सक्रिय रहनको लागि यस संस्थाको नेतृत्व गर्ने प्रयास स्वरूप हजुरहरू समक्ष उपस्थित भएको छु ।‘ आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमा कोशिसले लेखेका छन्।
‘मैले समुदायको लागि मजबुत, सशक्त र भविष्य लक्षित कार्य योजनाका साथ यसमा होमिएको छु। आवश्यकता र कठिन परिस्थितको सामना गरिरहेकाहरूको लागि हरपल, हरक्षण साथ,सहयोग र सामिप्यतामा रहेर निस्वार्थ काम गर्दे आएको छु, यसलाई अझै अगाडि बढाउने मेरो प्रण रहेको छ ।‘ उनले अगाडि भनेका छन्, त्यसैले आज म हजुरहरूको सामु बानाको अध्यक्ष पदको उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारीको घोषणा गर्दा अत्यन्तै गर्व र उत्साहको अनुभव गर्दै छु।म हजुरहरूको समर्थन र सहयोगको विश्वासमा छु, जसले मलाई मानव सेवा गर्ने अवसर प्रदान गर्नेछ भन्ने आशा राख्दछु ।‘
बानाको भावी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी घोषणा भई सक्दा संस्थापन पक्ष भने अनिर्णीत बनेको छ। वर्तमान अध्यक्ष सुबोध पन्त आफैले ह्याट्रिक गर्ने की अर्को उम्मेदवारलाई समर्थन गर्ने टुङ्गोमा पुगिनसकेको बत्ताउँछन्।
यस्तै वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीले पनि समाज टाइम्स सँगको कुराकानीमा भावी अध्यक्षमा आफ्नो दावेदारी रहेको बताउँदै आएकी छिन्। तर औपचारिक घोषणा गरिसकेकी छैनन्।
अघिल्लो पटक सुबोध सँग पराजित भएका हिरा गुरुङ यस पटक संस्थापन पक्षबाट उम्मेदवार हुने प्रयासमा रहेको तर अन्तिम निर्णय नभएको बताइएको छ।