पेन्सिल्भेनिया ल्यानक्यास्टरमा मनाइयो सोनाम ल्होसार

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा शनिवार सामूहिक रूपमा सोनाम ल्होसार मनाइएको छ। तामाङ कम्युनिटी अफ ल्यानक्यास्टर पेन्सिल्भेनियाको आयोजनामा सामूहिक रूपमा सोनाम ल्होसार मनाइएको हो। ल्यानक्यास्टरमा र वरपर रहेका तामाङ समुदाय र उनीहरुले निम्ता दिएका गैर तामाङ एकै स्थानमा भेला भएर सामूहिक रूपमा ल्होसार मनाएका हुन्।
परम्परागत भेषभुषामा सहभागीहरूले नाचगान गर्दै, नेपाली मौलिक परिकार खाएर आपसमा शुभ कामना साटासाट गर्दै ल्होसार मनाएका थिए।
औपचारिक कार्यक्रममा मुना तामाङले अतिथिहरूलाई स्वागत मन्तव्य दिँदै सोनाम ल्होसारको बारेमा प्रस्टाएकी थिइन्।
सोनाम ल्होछार २८६१ वर्षमा शुरु भएको छ । गत बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिएको हो।
सोनाम ल्होछार, तामाङ लगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।
ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ड्रुुक होम केयरका ओम घिमिरेले ल्होसारको शुभ कामना दिँदै विदेशमा यसरी सामूहिक ल्होसार मनाउँदा आफ्नो मौलिकता र संस्कृतिको जगेर्ना हुने बताए।
यस्तै विषेश अतिथिको रूपमा सहभागी भएका समाजसेवीहरू खगेश्वर मिश्र, कमल काफ्ले लगायतले पनि ल्होसारको शुभ कामना दिएका थिए।
तामाङ कम्युनिटी अफ ल्यानक्यास्टर पेन्सिल्भेनियाका अध्यक्ष मन तामाङले आफ्नो धर्म र संस्कृति जोगाउन आफूहरूले कार्यक्रम आयोजना गरेको बताए। उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा बालबालिकाहरूले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए। पासाङ तामाङले उद्घोषण गरेको कार्यक्रममा जस तामाङ लगायतले गीत गाएका थिए।
तामाङ कम्युनिटी अफ ल्यानक्यास्टर पेन्सिल्भेनियाका कोषाध्यक्ष हर्क तामाङका अनुसार ल्यानक्यास्टरमा तामाङ समुदायको करिब २० संस्थामा जोडिएका छन्। तीन मध्ये प्रायशः भुटानबाट आएका हुन्।
‘हामी सबै घर परिवारले आपसमा पैसा उठाएर यस्ता कार्यक्रम गर्दा आएका छौ, यो रमाइलो त छदै छ त्यो भन्दा ठूलो हाम्रो धर्म र संस्कृतिको जगेर्ना पनि हो।’ उनले भने।
कोषाध्यक्ष हर्कका अनुसार शंकर तामाङ, बुद्ध तामाङ र जस तामाङ कार्यक्रम व्यवस्थापक रहेका थिए।
कार्यक्रमका थप तस्बिरहरु