सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रूपले बनेको पुष्टि भएको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचारीहरूको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको बताएका हुन् ।
उनले भने,‘अहिले सरकारमा गएकाहरू कुनै देशको निम्ति सकारात्मक काम गर्ने उद्देश्यले होइन । उनीहरू भ्रष्टाचारीहरूको रक्षा गर्नका निमित्त संविधानमा भएका प्रगतिशील तत्त्वहरूलाई हटाउन र त्यसलाई प्रतिगामी स्वरूप दिने उद्देश्यद्वारा र सामाजिक न्याय कायम गर्न होइन अन्याय कायम गर्ने उद्देश्यद्वारा यो सरकार गठन भएको छ । र सरकारले आफै प्रतिबद्धता गरेको मान्यता विपरीत पनि गठन छ । त्यसैले सरकार,अप्राकृतिक, अलोकतान्त्रिक छ र सरकार आफैँमा गलत उद्देश्यले बनेको छ । गएको छ महिनामा सरकारले गरेको क्रियाकलापले त्यो देखाइरहेको पनि छ ।’
अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश पनि बढो अलोकतान्त्रिक र निरङ्कुश तरिकाले ल्याएको आरोप लगाए । अध्यादेश प्रतिगमनतिरको यात्राको पाइलाहरू नै हो भन्ने महशुस भएपछि तत्काल अधिवेशनको आव्हान गरेको उनले जानकारी दिए ।
त्यस्तै उनले, विगतको लामो अनुभवबाट निर्मित संविधानमा भएका सकारात्मक परिवर्तनहरू उल्ट्याउने जमर्को भइरहेको उनको भनाइ छ । कहिले पटक–पटक संविधान मिचेर प्रतिनिधि सभा विगठन गर्ने नाममा त कहिले संविधान संशोधनको नाममा यो जनताको अधिकारहरू खोस्ने जमर्को भइरहेको उनले बताए