वर्तमान सरकार ०८४ सम्म कायम रहन्छ : नेपाली कांग्रेस

काठमाडौँ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरू उठाउने विषयमा छलफल गरेको छ ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरु र सरकारलाई ०८४ सम्म नै निरन्तरता दिने विषयमा छलफल भएको बताए ।
उनले भने, ‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरू उठाउने छ । यो सरकार गठन भएपछि गरेका राम्रा कामहरु के के छन्, आर्थिक अवस्थाको सुदृढीकरण के हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदी विषयमा समीक्षा भएको छ ।’
‘तीन तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ । सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ ।’ उनले बैठकमा प्रारम्भिक छलफल भएको बताए ।