चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा परेड, एक चीन नीतिकारबारे चर्चा

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालले चीन सँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिँदै आएको धारणा राखेकी छन् ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौँको ठमेलमा आइतबार आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबिचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकोले उच्च महत्त्व र प्राथमिकता दिँदै आएको धारणा राखेकी हुन् ।
‘नेपाल र चीनबिच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध रहेको छ । हाम्रो सम्बन्धको जरा गहिरो र बहु आयामिक छ,’ उनले भनिन्,‘हामी हाम्रा दुई देशबिचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौँ र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिन्छौँ।’
उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको पनि दोहोर्याइन् । ‘नेपाल सधैँ ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ। नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ,’ उनको भनाई थियो ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधैँ कदर गर्ने पनि उपसभामुख रानाले बताइन् ।
दुई देशले उच्चस्तरीय भ्रमण र कार्यक्रमहरूको नियमित आदानप्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरेको चर्चा गर्दै उपसभामुख रानाले औपचारिक भ्रमणका क्रममा भएका महत्त्वपूर्ण निर्णय र सहमतिहरूले द्विपक्षीय सम्बन्ध र सहयोगमा नयाँ गतिशीलता ल्याउने विश्वास पनि व्यक्त गरिन् । उनले चिनियाँ परम्परा अनुसार सर्पले बुद्धि र अनुकूलन क्षमताको प्रतीक भएकाले यो नयाँ वर्षले सबैका लागि थप प्रगति र समृद्धि ल्याउने विश्वास लिएको पनि बताइन् ।
अर्को प्रसङ्गमा उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन् ।
चीनका राजदूत छङ सोङले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव र चिनियाँ नयाँ वर्ष मनाउने क्रममा आयोजित परेडले विशेष महत्त्व राखेको बताउँदै यसले दुई देशबिचको घनिष्ठ र निरन्तर बढ्दै गइरहेको सम्बन्धलाई अगाडि बढाउन उत्कृष्ट अवसर बन्ने विश्वास व्यक्त गरे । सो अवसरमा चीन र नेपालका विविध संस्कृति झल्कने प्रस्तुति पनि देखाइएको थियो ।