टेक्ससमा माघे सङ्क्रान्ति मेला जनवरी ११ शनिवार
|
Getting your Trinity Audio player ready...
|
डालस, टेक्सस। नेपालीहरूको निकै महत्त्वपूर्ण चाड माघे सङ्क्रान्तिको अवसरमा मगर संघ अमेरिका टेक्सस च्याप्टरले यस वर्ष पनि माघे सङ्क्रान्ति मेला २०२५ मनाउने भएको छ।
जनवरी ११, २०२५ शनिवारको दिन आयोजना गरिएको यो मेलामा विशेष सांस्कृतिक कार्यक्रम रहने र यसमा मुख्य अतिथि कलाकारको रूपमा वरिष्ठ कलाकार राजेश पायल राईले प्रस्तुति दिने जनाइएको छ।
“आफ्नो मातृभूमि र आफ्नो संस्कृतिलाई नभुलौँ” भन्ने मूल मन्त्रसाथ डालस क्षेत्रमा बस्ने मगर समुदायले विगत लामो समय देखि निरन्तर रूपमा माघे सङ्क्रान्ति मनाउँदै आएका छन्। यस वर्ष पनि कन्भेन्सन प्लाजा अर्भिंगमा यो भव्य कार्यक्रम आयोजना हुदैछ। आफ्नो मातृभूमि र आफ्नो संस्कृतिको निकै माया गर्ने यो समुदायले डालस क्षेत्रमा अन्य विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ।
मेलामा राजेश पायल राईको साथमा स्थानीय अन्य लोकप्रिय कलाकारहरूको समेत प्रस्तुति रहने जनाइएको छ। गायक भीम चापागाईँ, अमृता लुङ्गेलि मगर, छवि सुनारको साथै अरू धेरै प्रस्तुतिहरू रहेको मगर संघ अमेरिका टेक्सस च्याप्टरले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।
माघे सङ्क्रान्ति विक्रम सम्मत क्यालेन्डर अनुसार माघको पहिलो दिन मनाउने गरिन्छ। यो चाड विशेष गरी थारु समुदाय र मगर समुदायमा धूमधामसाथ मनाउने गरिन्छ। थारु समुदायमा यसलाई माघी भनिन्छ भने यो उनीहरूको नयाँ वर्षको शुरुवातको रूपमा मनाउने गर्दछन्। मगर समुदायमा यसलाई विभिन्न परिकारका मिठा खानेकुरा खाने, आफ्ना पुर्खाहरूको सम्झनामा पूजाआजा गर्ने, आफ्ना छोरिचेलिहरुलाई समेत तीन दिनसम्म पूजा गर्ने चलन छ। माघे सक्रान्ति मगर समुदायको प्रमुख चाड पनि हो।
माघे सङ्क्रान्तिको दिन चितवन र तनहुँको सङ्गममा रहेको देवघाटमा ठुलो मेला पनि लाग्ने गर्छ। यो दिन तरुल, चाकु जस्ता मिठा परिकार खाएर रमाइलो गर्ने चलन छ।
मगर संघ अमेरिकाले प्रेषित गरेको विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
जहाँ रहे पनि जहाँ बसे पनि नभुलौँ हाम्रो मातृभूमिलाई, जोगाइ राखौँ युगौँ युग हाम्रो मौलिक कला र संस्कृतिलाई” झोर्ले, जदौ, नमस्कार सम्पूर्णमा हरेक वर्ष झैँ यो वर्ष पनि मगर जातिको राष्ट्रिय पर्व माघे सङ्क्रान्तिको अवसरमा आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-संस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्त्वपूर्ण उद्देश्यले मगर संघ अमेरिका टेक्सस च्याप्टरको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम यही ११ जनवरी २०२५ शनिवारको दिनमा आयोजना गर्ने भएको छ ।
जसमा थुप्रै ख्याति प्राप्त कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने छ त्यसका साथै स्वादिष्ट मौलिक खानाका परिकारहरू पनि रहने छन् । समय मिलाएर आउनु होला । यस वर्षको मुख्य आकर्षकको रूपमा अत्यन्तै चर्चित वरिष्ठ गायक राजेश पायल राईको बेजोड प्रस्तुति रहने साथमा निकै नै चर्चित मिठो स्वरकी धनी लोक दोहोरी गायिका अमृता लुङ्गेलि मगरको विशेष गीतहरू प्रस्तुति रहने साथमा सङ्गीतकार तथा गायक भीम चापागाईँ, लोकदोहोरी गायक छवि राज सुनार, चर्चित गीतकार लिलु गुरुङ अन्य मगर संघ अमेरिका टेक्सस च्याप्टर सांस्कृतिक विभागका अत्यन्तै प्रतिभाशाली कलाकारहरूको प्रस्तुति सँगै नौमती बाजामा लोकदोहोरी प्रस्तुति हुने छन् यहाँहरू भरपुर रमाइलो दिने हाम्रो कोशिस रहने छ ।
कार्यक्रमको दिन अवश्य भेट हुने नै छौ भन्दै हाम्रा इस्ट-मित्र तथा सम्पूर्ण साथीहरूमा उक्त कार्यक्रम सफल पार्नको लागि सम्पूर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।












