‘गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन छिट्टै’ : गृहमन्त्री

काठमाडौँ/ गृहमन्त्री रमेश लेखकले गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन सम्बन्धी समस्या छिट्टै समाधान हुने आश्वासन दिएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) केसी समूहका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा गृहमन्त्रीले सो आश्वासन दिएको बताइएको छ।
‘गृहमन्त्री लेखकले गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसद्को आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।’ केसी समूहको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।
‘सरकारले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरू, कानुन तथा नियमावली संशोधनका उपायहरू तथा अध्यागमन, मालपोत, कम्पनी, बैङ्क तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत् छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ ।’ गृहमन्त्रीको भनाई उद्धृत गर्दै सचिवालयको विज्ञप्तिमा भनिएको छ।
त्यसअघि संघका अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैर आवासीय नेपालीहरू निराश भएको बताएको भनिएको छ।
भेटमा गैर आवासीय नेपाली नागरिकता नहुँदा नेपालमा लगानीका लागि पनि समस्या पर्ने भन्दै अध्यक्ष डा केसीले ध्यानाकर्षण गराएका थिए।
जवाफमा गृहमन्त्री लेखकले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि संशोधन गर्नुपर्ने झन्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको बताएका थिए।
‘सरकारले नै लगानीका लागि आउनुस् भन्नुपर्नेमा तपाईँहरू आफैँ आफ्नो देशमा लगानी छौँ भनेर आउनुभएको छ, नेपालको विद्यमान कानुनमा रहेका समस्याहरू, कानुन तथा नियमावली संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ ।’ गृहमन्त्रीले भने।
उक्त अवसरमा अध्यक्ष डा केसीले पुस्तौँदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए।
जवाफमा गृहमन्त्री लेखले भने, ‘यस सम्बन्धमा छलफल भइरहेको छ । गैर आवासीय नेपालीको परिभाषाभित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन कानुन मन्त्रालयले गृहकार्य नै थालेको छ । सरकार यसमा सकारात्मक छ ।’
सो अवसरमा संघका अध्यक्ष डा. बद्री केसीसहित, सह कोषाध्यक्ष कृष्ण तिमिल्सेना,सल्लाहकार गोविन्द प्रसाद गौतम, आइसीसी सदस्य सञ्जु पौडेल(दक्षिण कोरिया) प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, संघका तर्फबाट गैर आवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाल लगायतको उपस्थिति रहेको जनाइएको छ।
