हात्तीको उपद्रो,१२ भन्दा बढी घरमा क्षति
रौतहट । रौतहटको दुई पालिकाको विभिन्न स्थानमा रहेको बस्तीमा १२ भन्दा बढी घर हात्तीले भत्काइदिएको छ ।
जङ्गली हात्तीको बथानले करिब दुई साताअघि चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ४ घर भत्काएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा ७ र वडा नम्बर २ को जुडिबेलामा एक घर भत्काएको छ । गैडाटारका स्थानीय नवीन तामाङका अनुसार सन्त बहादुर रुम्बा, मिना राई, छेनाम सिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइँला, सुवास ठोकर, साइँला गोलेको घर जङ्गली हात्तीले भत्काइदिएको छ ।
हात्तीले जुडिवेलामा रहेको एक घर भत्काएको छ भने कालापानी सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा निर्माण पार्क र पानी घट्टमा पनि क्षति पुर्याएको उनले बताए । चन्द्रपुर नगरपालिका अन्तर्गत वडा नम्बर २ को जुडिबेला, ३ गैडाटार , वडा नम्बर ४ कप्तान टोल र जंगलटोल क्षेत्रमा हात्तीले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै किसानको बालीमा समेत क्षति पुरयाउदै आएपछि यहाँका बासिन्दा चिन्तित भएका छन् ।
फतुवा विजयपुर नगरपालिका वडा नं. ११ वुटवा बस्तीमा ४ घर हात्तीले भत्काइदिएको छ । स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर ,हरिशरण मैनाली , लगायतका घरमा हात्तीले क्षति पुर्याएको छ । विगत केही महिना देखि नगर भित्र रहेको जङ्गलमा देखा परेको हात्ती बेलुका र बिहान बस्ती नजिकमा आउने गरेको स्थानीयले बताएका छन् । हात्तीले केरा खतीमा बढी क्षति गरेको किसानको गुनासो छ ।
सामुदायिक वन क्षेत्रमा ७÷८ वटा समूहमा नै हात्ती देखा परेको उनीहरू बताउँछन् । उनीहरूका अनुसार हात्ती यस क्षेत्रको बन वारीपरि नै छ । गाउँ नजिकै रातिको समयमा हात्ती देखा पर्न थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेका छन् । रातैभर हात्तीको उपद्रोका कारण सुत्न समेत नपाएको गाँउलेहरुको गुनासो छ । गाउँ नजिक सामुदायिक वन रहेकाले त्यहीबाट हात्ती प्रवेश गरेको हुन सक्नै भन्दै सतर्कता अपनाउन सवैमा डिभिजन वन कार्यालय रौतहटले सुझाव दिएको छ । जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन र झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।