कोरियाको हवाई भाडा घटाएकोमा मन्त्री पाण्डेलाई विदेशमा रहेकाले दिए बधाई
काठमाडौँ । दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडा दर घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् ।
जनसम्पर्क समिति दक्षिण कोरियाले एक विज्ञप्तिमार्फत बिचौलियाहरूका कारण अत्यन्तै चर्को भाडदारको मार भोग्नु परेको अवस्थामा त्यहाँ कार्यरत संघ संस्थाले आवाज उठाउँदै आएको र यसका लागि पर्यटन मन्त्री पाण्डे तथा नेपाली काँग्रेसका महामन्त्री गगन थापालगायतबाट भएको पहलका लागि विशेष धन्यवाद ज्ञापन गरेका हुन् ।
समितिले फेसबुकमार्फत जारी विज्ञप्तिमा भनिएको छ,‘कोरियाका सक्रिय राजनीतिक सङ्गठनहरू र गैर आवासीय नेपाली संघ, एनसीसी, प्रदेश समाजहरू, सम्पूर्ण क्रियाशील संघसंस्थाहरुको ज्ञापन पत्र, अनुरोध र महामन्त्री, पर्यटन मन्त्री पाण्डेको विशेष पहल कदमीसँगै सम्बन्धित निकायहरूको ध्यानाकर्षणका कारण कोरिया आउने हवाई टिकेट विक्री टेण्डरमा बिचौलिया तन्त्रको अन्त्य हुँदै एक लाख २५ हजारसम्म पुगेको भाडा दर अहिले ५४ हजार रुपैयाँसम्म कायम भएपछि कोरिया आउने श्रमिकहरूलाई ठुलो राहत भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसको पहलकदमी गरी राहत दिलाउन हर प्रयास गर्ने नेपाली काँग्रेसका महामन्त्री गगन थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, अन्य मन्त्रालय लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय र अधिकारीहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौँ ।’
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा २८ जुलाई २०२४ मा भएको बृहत् अन्तर्क्रिया कार्यक्रममा कोरियामा जाने श्रमिकहरू महँगो हवाई भाडादारका कारण एकदमै ठुलो मारमा परेका तथ्यलाई उजागर गर्दै नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता अनुसार महामन्त्री गगनकुमार थापाले १३ अगष्टमा प्रतिनिधि सभा बैठकमा आवाज उठाउँदै पटक पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको विज्ञप्तिमा स्मरण गरिएको छ ।
साथै गत २१ अक्टोबरमा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्रबहादुर क्षेत्रीले महामन्त्री थापालाई उनकै निवासमा भेटेर थप ताकेता गरेको र कोरियामा कार्यरत संघ संस्थाका प्रतिनिधि मण्डलले गत २२ अक्टोबर मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट्न जानकारी गराए अनुसार परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग समन्वय गरी भएको पहल कदमीबाट भाडा दर घट्न सफल भएको जनाइएको छ ।