नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच ऐतिहासिक एकता भएको घोषणा गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त एकता घोषणा भएको हो ।
उनीहरुले यो एकता र ध्रुवीकरणले एकीकृत जनक्रान्तिका मित्र वर्ग, शक्ति र समुदायलाई एकबद्ध बन्न एक कदम अगाडिबाट सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।
सोही क्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले देशको तीन ठुला दलले नेपालको नेतृत्व गर्दै गर्दा देश र जनतालाई के दियो भनेर हेर्ने हो भने प्रश्न बाहेक केही नदेखिएको बताएका छन् ।
उनले भने, ‘नेपाली काङ्ग्रेस ६ सालदेखि देशको नेतृत्व गर्ने मौका पाएको छ र धेरै पटक प्रधानमन्त्री पनि भइसकेको छ । अहिले पनि नेपाली काङ्ग्रेस सरकारमा छ । तर काङ्ग्रेसले नेतृत्व गरेपछि नेपाली जनतालाई के दिन्छ भन्ने कुरामा स्पष्टता छैन । नेकपा एमालेको नेतृत्वमा सरकार छ तर एमालेले देशलाई के दियो र के दिने चाहना छ भनेर सोच्ने हो भने प्रश्न मात्र देखिन्छ । माओवादी केन्द्रले पनि एकताको कुराहरू गरिरहेकै छ तर तीन पटक प्रधानमन्त्री हुँदा पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै छ ।’
यस्तै, क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही संयोजक जितेन्द्र सीले जनताको अवस्था परिवर्तनको लागि देशभर नै अभियान सञ्चालन गर्ने भन्दै एक महिनाभित्र देशभर यो अभियानलाई लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘हामी स्पष्ट छौ र लड्न पनि तयार छौ । तर जनताको परिवर्तन हुनुपर्छ, परिवर्तनको लडाई लड्नुपर्छ र यसमा हामी दृढ छौ । यो अभियान देशै भर हुनेछ यसमा मैले गति दिने छु र निरन्तर रूपमा लाग्ने पनि छु । एक महिनाभित्र देशभर यो अभियानलाई लाने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’