जनकपुर बोल्ट्सको लगातार चौथो जीत, लुम्बिनी स्तब्ध

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। लुम्बिनीको यो लगातार चौथो हार हो भने जनकपुरले लगातार चौथो जित दर्ता गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस हारेर ब्याटिङ गर्दै ९ विकेट गुमाएर १३६ रनको चुनौती प्रस्तुत गरेको थियो। जवाफमा लुम्बिनीले ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो।
लुम्बिनीका कप्तान रोहित पौडेलले ३५ रन बनाए भने जनकपुरका हर्ष ठाकर बलिङमा चम्किँदै पाँच विकेट लिए। त्यसका अतिरिक्त कोशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिँदै लुम्बिनीलाई दबाबमा राखे।
जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए। त्यस्तै, लाहिरु मिलान्थाले २४ रन र शुभ कंसाकारले अविजित २२ रन बनाएर टोलीलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ डोर्याए। लुम्बिनीका बलर अभिषेश गौतमले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। कप्तान रोहित पौडेल र साद बिन जफरले समान दुई विकेट हात पारे भने सन्दीप जोराले पनि एक विकेट लिए।
यो जितसँगै जनकपुर चार खेलबाट ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार चार खेल गुमाएको लुम्बिनी अंकविहीन हुँदै तालिकाको पुछारमा छ।