अमेरिकामा कस्तो छ परस्त्रीगमन (अडल्ट्री) कानुन ?

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अंग्रेजी शब्द अडल्ट्री जसलाई नेपालीमा परस्त्री गमन या अन्य गमन जस्ता शब्दहरूले बुझ्ने गरिन्छ। यसको अर्थ हुन्छ विवाहित मानिसले आफ्नो पति या पत्नी बाहेक अरू सँग सहमतिमै गरिने स्वेच्छीक सहवास या यौनक्रिडा ।
अमेरिका, अर्थात् मानिसको स्वतन्त्रताको उच्च सम्मान एवं सदुपयोग भएको मूलक यहाँ मानिसले आफ्नो स्वतन्त्रताको भरपुर उपयोग गर्दछन् ।
जीवन, स्वतन्त्रता र छनौटको अवसरको उच्च सम्मान छ अमेरिकामा । यसो हो भने अडल्ट्री अर्थात् विवाहहेत्तर सम्बन्धका विषयमा अमेरिकामा व्यावहारिक चलन तथा कानुनी व्यवस्था कस्तो छ ?
यो सबैको चासोको विषय हुन सक्छ । यसै सन्दर्भमा यस आलेखमा केही व्यावहारिक तथा कानुनी विषयको सन्दर्भमा केही पक्षको समीक्षा गरिएको छ।
के बहुविवाह वैध छ त अमेरिकामा?
पोलीग्यामी (बहु पत्नी) एवम् बीगमी (द्धिविवाह को प्रथा) अर्थात् बहुविवाह प्रथा अमेरिकाको सबै राज्यमा गैर कानुनी छ ।
सन् १८८२ मा पारित संधिय कानुन एडमण्डस् एन्टी पोलीग्यामी एक्ट् १८८२ ले अमेरिकी राज्य तथा क्षेत्रमा पोलीग्यामीलाई फेलोनी (फौजदारी) अपराध मान्दै यस्ता अभियोग प्रमाणित व्यक्तिहरूलाई केही नागरिक अधिकार बाट पनि वर्जित गर्ने प्रावधान यो कानुनमा छ ।
यसको अर्थ कोही पनि व्यक्ति कानुनी रूपले विवाहित रहेको अवस्थामा अर्को विवाह गर्नु फौजदारी अपराध मानिन्छ । बहुविवाह ठहर व्यक्ति भोट हाल्ने अधिकार, सार्वजनिक पद, एवम् जुरीमा सेवा गर्ने अवसरहरू बाट समेत अयोग्य सम्म हुने व्यवस्था छ।
अड्ल्ट्रीको सन्दर्भमा कस्तो छ त सामाजिक तथा व्यावहारिक चलन?
विवाहित रहेकै अवस्थामा अन्य व्यक्ति सँग यौन सम्बन्ध राख्नु लाई इनफिड्यालीटी भनिन्छ । यो अमेरिकामा धार्मिक तथा व्यावहारिक दुवै हिसाबले स्वीकार्य मानिँदैन । तथापि अमेरिकाको अधिकांश राज्यहरूमा अड्ल्ट्री डिर्भोस (सम्बन्ध विच्छेद) को लागी यथेष्ट कारण को रूपमा मान्ने गरेको छ ।
अर्थात्, अड्ल्ट्रीको कारण देखाउँदै विवाहित जोडी मध्ये एक ले सम्बन्ध विच्छेदको माग गरेमा यो नै यथेष्ट कारक बन्न सक्छ । हुन त अमेरिकामा सम्बन्ध विच्छेदको जाहेरी विभिन्न कारण देखाउँदै दिन मिल्ने व्यवस्था छ ।
विवाहित ले विवाहहेत्तर सम्बन्ध राखेमा कस्तो छ कानुनी प्रावधान?
आफ्नो जीवन साथीलाई बेइमानी गर्नु हो विवाहहेत्तर सम्बन्ध राख्नु । अमेरिकाका विभिन्न राज्यहरूमा अडल्ट्री अर्थात् विवाहितले आफ्नो जीवनसाथी बाहेक अरू सँग शारीरिक सम्बन्ध राख्नु लाई गैर कानुनी तथा सजाय जन्य अपराध मानेको छ ।
हुन त अमेरिकामा राज्य अनुसार अपराधको पहिचान तथा कसुर को व्याख्या फरक फरक हुन्छ । न्यू योर्क, नर्थ-साउन क्यारोलाइना, जर्जिया, मेरील्याण्ड, विसकासिन, फ्लोरिडा, मिसिगन, इलनोय, लगायतका करिब एक दर्जन राज्यमा भने अडल्ट्रीलाई अपराधकै रूपमा लिने गरिएको छ ।
हुन त, व्यावहारिक रूपमा अडल्ट्रीको मुद्दामा निकै कम अभियोजन तथा अदालती कारबाही हुने गरेका देखिन्छ । तथापि विभिन्न राज्यहरूमा अडल्ट्रीको सजाय फरक फरक छन् ।
जस्तो कि, न्यू योर्क राज्यको हक अड्ल्ट्रीलाई बी श्रेणीको मिसडेमिनियर (दुष्कर्म) को रूपमा व्याख्या गर्दै यसमा ९० दिन सम्मको जेल तथा पाँच सय अमेरिकी डलर सम्मको सजाय हुने प्रावधान छ । इलनोयमा ए वर्गको मिसडेमिनियर को रूपमा लिइन्छ । एक वर्ष सम्मको जेल र दुई हजार पाँच डलर सम्म को जरिवाना हुन सक्छ।
त्यसो त मिसिगन तथा अक्लोहमा राज्यमा ५ वर्ष सम्म कैद सजाय एवम् ५ हजार डलर सम्मको जरिवाना हुन सक्ने प्रावधान छ । मिसीगन, विसकानसीन र ओक्लोहोमा राज्यमा भने अडल्ट्री फेलोनी (फौजदारी) कसुरकै रूपमा लिइन्छ ।
अमेरिकामा अडल्ट्रीलाई सामाजिक रूपमा स्विकारिँदैन, व्यावहारिक रूपमा यसलाई डिर्भोस लागी योग्य मानिन्छ, तथा कतिपय राज्यमा अपराध मानिन्छ । यद्यपि पछिल्लो समय अमेरिकाका धेरै राज्यहरूले अडल्ट्रीलाई अपराध मान्ने गरेका छैनन् ।
मुलत हाड नाता भित्र नपर्ने तथा सहमतिमा भएका स्वैच्छिक सम्बन्धहरू अमेरिकामा अपराध नमान्ने राज्यहरू धेरै छन् ।