अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष
काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी उच्चस्तरीय बैठक सोमबार सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकाल्दै सम्पन्न भएको छ ।
तीन दिनसम्म काठमाडौंमा बसेको बैठकले दुवै देशको संयुक्त प्रयासमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै सीमाबाट हुने अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो ।
गत शनिबार सुरु भएको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादले ११ वटा एजेण्डामा छलफलपछि संयुक्त हस्ताक्षर गरेका छन् ।
संयुक्त प्रतिबद्धतापत्रमा सीमापार अपराध नियन्त्रण तथा सीमा सुरक्षाका विषयमा सहकार्यका गर्ने विषय समावेश छन् ।