अमेरिकामा चुनाव: तीन नेपाली भाषी विजयी
ल्यानक्यास्टार, पेन्सिल्भेनिया/ अमेरिकामा मंगलवार सम्पन्न निर्वाचनमा तीन जना नेपाली भाषी विभिन्न पदमा विजयी भएका छन्।
सुरज बुढाथोकीले न्यू ह्याम्पशायर हाउस अफ रिप्रिजेन्टेटिभ हिल्सबरो ४० डिस्ट्रिक्ट जितेका छन्। बुढाथोकीले डेमोक्याटिक पार्टीबाट चुनाव जितेका हुन्।
चार सिटका लागि भएको चुनावमा आठ जना उम्मेदवार बीच प्रतिस्पर्धा भएको थियो। जसमा डेमोक्याटिक पार्टीका चारै जना विजयी भएका हुन्। यद्यपि निर्वाचन आयोगले अन्तिम घोषणा गर्न बाँकी छ।
मार्क म्याकेन्जीले २६ दशमलव १ अर्थात् २६ सय ८८ मत पाएर पहिलो स्थानमा छन्। एरिन केर्विनले २५ दशमलव ८ प्रतिशत अर्थात् २६ सय ६१ मत पाएर दोस्रो र त्रिनिदाद टेलेजले २४ दशमलव ४ प्रतिशत अर्थात् २५ सय १० पाएर तेस्रो स्थानमा छन्।
सुरज बुढाथोकी २३ दशमलव ३ अर्थात् २३ सय ९९ मत सहित चौथो स्थानमा छन्।
भुटानको साम्राङमा जन्मिएका बुढाथोकी नेपालको शरणार्थी शिविरमा झन्डै दुई दशकको बसाइ पछि अमेरिका आएका हुन्।
उनले सन् २०१५ मा दक्षिणी न्यू ह्याम्पशायर विश्वविद्यालयबाट स्नातक डिग्री हासिल गरेका थिए। यस्तै सन् २०१८ मा नर्विच विश्वविद्यालयबाट स्नातक डिग्री हासिल गरेका थिए।
‘मलाई समर्थन गर्ने र हाम्रो साझा दृष्टिकोणमा विश्वास गर्ने सबै मतदाताहरूलाई मेरो हृदयदेखि धन्यवाद।‘राज्य संसद् पदमा निर्वाचित भए पछि बुढाथोकीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो वास्तविक काम सुरु हुन्छ—तपाईँको विश्वासको सम्मान गर्न, महत्त्वपूर्ण मुद्दाहरूलाई उठाउन र हाम्रो समुदायको लागि सकारात्मक परिवर्तन ल्याउन। सँगै, हामी उज्ज्वल भविष्य निर्माण गर्दैछौं। काममा लागौँ।’
बुढाथोकी नेपाली भाषी भुटानीहरूको परिवारको पुनर्मिलन हुनु पर्ने अभियानका अभियन्ता पनि हुन्। उनले आफ्ना परिवार भेट्न भुटान जान पाउनु पर्ने माग राख्दै आएका छन्।
उनी अब नेपाली भाषी भुटानी मूलका पहिलो अमेरिकी संसद् बनेका छन् भने नेपाली भाषी भुटानी समुदायका दोस्रो जनप्रतिनिधि। भुवन प्याकुरेल नेपाली भाषी भुटानी समुदायबाट पहिलो अमेरिकी जन प्रतिनिधि हुन्। उनी ओहायोको रेनल्ड्सबर्ग सिटी काउन्सिल मेम्वरमा दोस्रो कार्यकालमा कार्यरत छन्।
अमेरिकामा नेपाली मूलको पहिलो संसद् ह्यारि भण्डारी हुन्। उनी मेरिल्यान्ड राज्यमा डिस्ट्रिक्ट ८ बाट दोस्रो कार्यकालमा कार्यरत छन्।
नेपाली मूलकी पहिलो महिला सांसद सरहाना श्रेष्ठ दोस्रो कार्यकालका लागि विजयी भएकी छिन्।
उनी न्यु योर्कको राज्य विधान सभा जिल्ला १०३ बाट पुन निर्वाचित भएकी हुन्। डेमोक्याटिक पार्टीकी सरहानाले ६३.८ प्रतिशत अर्थात् ४४ हजार ८ सय ७९ मत पाएकी छिन्। उनका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका ज्याक हेसले ३६.२ प्रतिशत मत पाएका छन्।
यसै गरी क्यालिफोर्निया राज्यको हर्कुलेस सिटी काउन्सिलमा डिल्ली भट्टराई विजयी भएका छन्। यो सँगै त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डिल्ली भट्टराईलाई अमेरिकामा अब नेपाली मूलको पहिलो सिटी मेयरको हुने बाटो खुलेको छ।
नियम अनुसार चुनावमा पहिलो र दोस्रो हुनेले आलोपालो मेयर र उम मेयर हुने व्यवस्था छ। डेमोक्याट्रिक पार्टीबाट चुनावमा उम्मेदवार भएका भट्टराई दोस्रो स्थानमा रहेका छन्। भट्टराईले २८.५६% अर्थात् चार हजार पाँच सय ३१ मत पाएका छन्। एलेक्स वाकर -ग्रिफिन २८.८८% अर्थात् चार हजार पाँच सय ८२ मत सहित पहिलो स्थानमा छन्।
नेपालमा बुटवल घर भएका भट्टराई सन् २००१ मा अमेरिका आएका हुन्। उनी हर्कुलस सिटीमा योजना आयुक्तको रूपमा कार्यरत छन्।
दिगो आर्थिक विकासका लागि साना व्यवसायहरूलाई प्रवर्द्धन गर्न, वित्तीय स्थायित्व सुनिश्चित गर्न र हर्कुलस शहरमा सार्वजनिक सुरक्षा वृद्धि गर्ने योजना सहित उनी चुनावमा होमिएका हुन्।
‘सबैलाई धन्यवाद दिन चाहन्छु। विशेष गरी नेपाली समुदायलाई’ निर्वाचित भए पछि समाज टाइम्स सँग कुरा गर्दै भट्टराईले भने, ‘हामीले इतिहास बनायौ। दोस्रो पुस्ताका लागि पनि यो गौरवको कुरा हो, बाटो देखाएको छ।‘