डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकामा मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दोस्रो पटक विजयी भएका छन्। उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुने मौका पाएका हुन्।
एपीका अनुसार, ट्रम्पले कम्तीमा २७७ इलेक्टोरल मत पाउने निश्चित भएको छ, जसले उनलाई विजयको बाटो खुला गरिदिएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये २७० मत आवश्यक पर्ने भए पनि ट्रम्पले आवश्यकभन्दा बढी मत प्राप्त गरेका छन्। यसपटकको चुनावमा ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गर्ने निश्चित भएको छ।
यस चुनावमा ट्रम्पको विजयको मुख्य कारण उनको स्विङ स्टेट्समा भएको ऐतिहासिक प्रदर्शनलाई मान्न सकिन्छ।
निर्णायक मानिएका पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन, र नेभादामा उनले आफ्नो पकड बनाएका छन्। यी राज्यहरूमा परम्परागत रूपमा जुनसुकै पार्टीले जित्ने सम्भावना रहँदा पनि यसपटक ट्रम्पले सबै स्विङ स्टेट्समा विजय हासिल गरेका छन्, जसले उनको दोस्रो कार्यकाललाई सुनिश्चित गरेको हो।
अमेरिकामा राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज प्रणालीअन्तर्गत सम्पन्न हुन्छ। जनसंख्याका आधारमा ५० राज्यहरूमा ५३५ र संघीय राजधानी डिस्ट्रिक्ट अफ कोलम्बियाका लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ, जसको कुल संख्या ५३८ हुन्छ। जसले २७० वा सोभन्दा बढी इलेक्टोरल मत प्राप्त गर्छ, त्यही उम्मेदवार राष्ट्रपति बन्ने व्यवस्था छ।
अमेरिकाको निर्वाचन प्रणालीमा परम्परागत रूपमा धेरै राज्यहरूले एउटा पार्टीलाई निरन्तर समर्थन गर्दै आएका छन्। डेमोक्रेटिक दलको पकड रहेका राज्यहरूलाई ‘ब्लु स्टेट्स’ र रिपब्लिकनको पकड रहेका राज्यहरूलाई ‘रेड स्टेट्स’ भनिन्छ। तर, स्विङ स्टेट्सका रुपमा चिनिने केही राज्यहरू भने चुनावमा निर्णायक मानिन्छन्। यसपटकको चुनावमा ट्रम्पले यी सबै स्विङ स्टेट्समा जीत हासिल गरेका कारण उनको विजयलाई ऐतिहासिक मानिएको छ।
डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकाको विदेश नीति, विशेषगरी चीन र भारतसँगको सम्बन्धमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ। ट्रम्पको कठोर चीन नीति र भारतप्रतिको सहानुभूतिशील दृष्टिकोणका कारण यस क्षेत्रका अन्य देशहरूमा पनि प्रभाव पर्ने सम्भावना रहेको छ। नेपाल लगायतका साना देशहरूमा अमेरिकी नीतिले असर पुर्याउने भएकाले ट्रम्पको विदेश नीति नेपालका लागि विशेष चासोको विषय बनेको छ।
यसरी दोस्रो कार्यकालका लागि ट्रम्प निर्वाचित भएपछि अमेरिकामा राजनीतिक परिदृश्यमा थप रोचकता आउने अपेक्षा गरिएको छ।