सभापति देउवा : सरकारले राम्रो काम गरिरहेको छ
भक्तपुर। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक सय दिनको कार्यकाललाई सकारात्मक बताएका छन्।
भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै देउवाले पार्टीको तर्फबाट कुनै अवरोध नगर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकारले राम्रो काम गरिरहेको छ। प्रधानमन्त्रीले साँच्चै राम्रो काम गर्नुभएको छ, र आगामी दिनमा पनि यसैगरी सकारात्मक कार्य अघि बढाउने विश्वास छ।”
प्रधानमन्त्री ओलीलाई आफूले सल्लाह र सुझावद्वारा सहयोग गरिरहेको भन्दै, देउवाले आलोचनालाई सरकारको सुधारका लागि अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। उनले सरकारलाई समस्या समाधान गर्न र परिणाममुखी कार्य गर्न कांग्रेसको समर्थन रहने बताए।
संयुक्त सरकार बनेपछि पार्टी पंक्ति पनि खुसी रहेको र सरकारलाई सफल बनाउन कांग्रेसले साथ दिने उल्लेख गर्दै उनले सरकार सहमतिअनुसार नै सञ्चालन हुनेमा जोड दिए।
भक्तपुरमा नगरपालिकाले बहुमुखी क्याम्पसमा डोजर लगाएको विषयमा, देउवाले नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई भक्तपुरका सबै दलहरूलाई समेटेर अघि बढ्न सुझाव दिए। उनले भक्तपुरमाथि एकल स्वामित्वको दाबी गर्न नहुने र सबैतिर न्यायसंगत ढंगले काम हुनुपर्ने बताए।
यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कांग्रेस र एमालेबीच सहकार्य र प्रतिस्पर्धा दुवै रहेको उल्लेख गरे। उनले सबै तहका जनप्रतिनिधि र मन्त्रीहरूलाई राम्रो काम गरेर देखाउन प्रेरित गर्दै कांग्रेसले जनतामा निराशा हटाई आशा जगाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, बागमति प्रदेश सभापति इन्द्र बाँनियाँ, जिल्ला सभापति तथा सङ्घीय सांसद दुर्लभ थापा, जिल्ला नेता रबीन्द्र प्रधान, यादव अधिकारीलगायतले कांग्रेसले जनताको हितका लागि काम गर्नुपर्नेमा जोड दिए।