महाकविलक्ष्मी प्रशाद देवकोटा ११६औॅ जन्म जयन्ति तथा २०२४ को दीपावली र तिहार विशेष कार्यक्रम
विष्णु लुइटेल
पेन्सिल्भेनिया, अमेरिका/ त्रिवेणी साहित्य मञ्चको आयोजनामा पेन्सलभेनिया राज्यको हरिसबर्गमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्ती र २०२४ सालको लक्ष्मी पूजाको अवसरमा देउसी भैली कार्यक्रम हिमालयन तेक्वान्दो हलमा २७ अक्टोबर २०२४ आइतबारका दिन भव्य रूपमा सम्पन्न भयो। नेपाली भाषी भुटानी र अन्य ब्यक्तित्वहरुको सभ्य र भव्य उपस्थिति रहेको उक्त कार्यक्रममा त्रिवेणी साहित्य मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने साहित्य प्रेमी विष्णु लुइॅटेलले महाकवि देवकोटाको स्मरण गर्दै संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।
साहित्यकार विद्वान गुरु हरि फुयालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ससाना बहिनीहरू दिव्या, दीपिस्का घिमिरे र आयुसा चापागाईले स्वागत नृत्य र गायन प्रस्तुत गरेका थिए। महाकवि देवकोटाको स्मरणमा कविता वाचन र बालबालिकाहरूले देवकोटाका कविताका सुन्दर पंक्तिहरू वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए।
लक्ष्मी पूजाको अवसरमा महिलाहरूको समूहले भैली गाउँदै नृत्य प्रस्तुत गरेर कार्यक्रममा रौनक थपेका थिए भने पुरुष र महिला समूहले मिलेर देउसी गीत र नृत्य प्रस्तुत गरेका थिए। त्रिवेणी साहित्य मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले देउसी भट्याएका थिए। संसारभर छरिएर रहेका हिन्दू, जैन, र शिखहरूले दीपावली पर्वको अवसरमा दीप प्रज्वलन गर्ने परम्परालाई निरन्तरता दिइएका छन् ।यस अवसरमा सुखदुख बाँड्ने र आगामी दिनहरूमा सबैको शान्ति, सुस्वास्थ्य, समृद्धि, र प्रगति रहोस् भन्ने कामना गरिन्छ।
नेपालीहरूले परापूर्वकालदेखि मनाउँदै आएका चाडपर्वहरूमध्ये दीपावली वा तिहार दोस्रो ठूलो चाड हो। शरद ऋतुमा पर्ने दशैंलाई असत्यमाथि सत्यको विजयको पर्व मानिन्छ भने शुभ दीपावलीलाई उज्यालोको प्रतीक मानिन्छ। हिन्दूहरूको यो दीपावली पर्व बलिराजा, लक्ष्मीजी, यमराज र यमुनासँग सम्बन्धित रहेको पुराणहरूमा प्रमाण पाइन्छ।
कार्यक्रमका प्रमुख अतिथि गुरु हरि फुयालका अनुसार “भगवान विष्णुको पाँचौं अवतार वामनले दानवराज बलीलाई यमपञ्चकका पाँच दिनसम्म स्वर्ग, मर्त्य, र पाताल लोकमा राज्य गर्ने वरदान दिएकोले बलीले ती तीन लोकमा राज गरेका थिए। यमराज र यमुनाको भेट नभएकोले यमुनाले आफ्ना संवाहक काग र कुकुरद्वारा यमराजलाई निम्तो पठाइन । यमराजले पनि आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरे र बहिनीका घर आए । त्यस समयदेखि त्रयोदशीमा कागको पूजा र चतुर्दशीका दिन कुकुरको पूजा गर्ने चलन रह्यो ।
औॅसीका दिन बिहान गाईको पूजा र बेलुकी साझमा लक्ष्मीजीको विशेष पूजा गरिन्छ । सॅाझका समयमा विशेष दीप प्रज्वलन गरिने हॅुदा यही दिनलाई दीपावली वा दियाली भन्ने चलन रहिआएको छ । दीपावली शब्द संस्कृत र दियाली शब्द हिन्दी भाषासॅग सम्बन्धित छन भने तिहार शब्द नेपाली मौलिक भाषासॅग सम्बन्धित छ । प्रतिपदा तिथिका दिन गोरु वा हली पूजा हुन्छ भने यमद्वितीयाका दिनमा दाजुभाइ र दिदीबहिनीबीच सप्तरङ्गी टीका लगाएर आशीर्वाद आदान-प्रदान गरिन्छ। यस पर्वमा दीपावली गरेर दाजुभाइ र दिदीबहिनीको स्नेह प्रकट गरिन्छ।” यमपञ्चक कार्तिक कृष्णपक्ष त्रयोदशी तिथिबाट शुरु भएर कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म रहन्छ “- प्रमुख अतिथि हरिज्यूले प्रस्ट पार्नु भयो ।
तिहार पर्वमा खेलिने रमाइलो खेल भैली र देउसीको चर्चा यस प्रकार पाइन्छ – लक्ष्माजी र भगवान नारायणको कारणवश केही समय वियोगको अवस्था रह्यो । लक्ष्मीजी र भगवान नारायणको संयोग वा मिलन गराउने काम राजा वलीले गराए । यसरी लक्ष्मीले भगवान नारायणसॅग मिलन भएको समयलाई नै दीपावली वा लक्ष्मी पूजा मानिन्छ र यसैको सुखीयालीमा महिलाहरुले भैली खेल्ने परम्परा रहेको मानिन्छ ।
यसका साथै भगवान नारायणले राजा वलीलाई पाताल लोकमा पठाउनु थियो । भगवानले वामन रुप धारण गरी वलिराजासित तीन पाउ जमीन दान मागे । वलिले वामन रुप भगवानको लीला बुझ्न सकेनन् र तीन पाउ जमीन दान दिन तयार भए । भगवानले दुई पाउमा वलिसॅग रहेको सारा लोक ढाकिदिए र तेस्रो पाउ राख्नका लागि आफ्नो शिर सौपिदिए । यसरी राजा वलिले भगवानलाई शिर सौपेको हुदा सारा लोकमा खुसीयाली छायो । त्यही खुसीयाली प्रकट गर्दै लोकले देऊ शिर राम वा रामलाई शिर देऊ भनी गाउन लागे र देउसीको चलन रहिआएको प्रसॅग कार्तिक महात्म्यमा पाइन्छ ।
त्रिवेणी साहित्य मञ्च साहित्य -संस्कृति अनि कलालाई बहुतै माया गर्ने गैरनाफामुखी संस्था हो । समाज विबिधताभित्रको एकतामा आधारित हुन्छ । यसै विबिधता भित्र रहेको एकतालाई जीवन्त राख्न मञ्ले उक्त कार्यक्रमको अवसरमा प्रयोग कलाप्रेमी विद्यार्थीहरुको कलाकौशलतालाई पनि समावेश गराएको थियो । यसै अवसरमा तेक्वान्दो खेलाडी सुवर्ण शर्माले आफ्नो सीप प्रदर्शन गरेकी थिन । सुवर्ण शर्मा मात्र ११ वर्षकी बालिका हुन । उनले यो भन्दा पहिल्यै आफ्नो उमेर र तौल समूहबाट थाईल्यान्ड र दक्षिण कोरियामा भएको प्रतिस्पर्धामा तीन स्वर्ण पदक जितिसकेकी छन ।
हिमालयन तेक्वान्दो हेरिस्बर्गका सञ्चालक तथा प्रशिक्षक नकुल शर्माले अतिथिको आसनबाट उक्त अवसरमा नेपाली साहित्यका महाकबि देवकोटालाई स्मरण गर्दै शुभ तिहारको उपलक्ष्यमा मङ्गलमय शुभकामना व्यक्त गर्नु भयो ।
विशेषगरी नेपाली भाषी भुटानीहरूले स्वदेशबाट लखेटिनु परेपछि एउटै परिवारका सदस्यहरुले विश्वका बिभिन्न मुलुकमा पुनर्स्थापनाका लागि विभाजित हुनु पऱ्यो । शरणार्थी जस्तो कहाली लाग्दो परिस्थितिबाट बाहिर निस्किएर आफ्नो र छोराछोरीहरुको उज्वल भविष्यतर्फ कदम चाल्नु शरणार्थीहरुको बाध्यता थियो । यसै बाध्यतालाई अङ्गिकार गर्दा भुटानीहरुका परिवारले बिभिन्न देशमा एकै परिवारका सदस्यहरुले बिभाजित हुनुपऱ्यो । यो बिभाजन भुटानीहरुको रहर अवश्य थिएन ।
यस बाध्यतालाई नेपाली भाषी भुटानीहरुले जतिवटा देशमा बिभाजित हुनुपरे पनि वृद्ध बाबा-आमाको मन-मुटुलाई खुसी राख्न अनि आफ्नो महान पर्वहरुलाई मनाउन र सधै कायम राख्न हरसम्भव निरन्तरता दिएका छन् ।
यी भुटानीहरुको परिवार बिभाजन हॅुदाको पीडा जोकोहीले पनि सहजै अनुमान लगाउन सक्दछ । परिवारका सदस्यहरुमध्ये कोही भुटानको जेल भित्र त कोही भुटान भित्र छन । अनि कति जना नेपालका शरणार्थी शिबिरमा छन त कति जना आठवटा पुनर्स्वाशित देशहरुमा । यो मानव जीवनमा कल्पना गर्न सकिने विषय होइन । भुटानीहरुलाई यही नियति भोग्न बाध्य पारिएको छ । तरैपनि नेपाली भाषी भुटानीहरुले हिम्मत हारेका छैनन् । उच्च मनोबलका साथ उनीहरु आफ्नो मातृभाषा , चाडपर्व र संस्कृतिहरुप्रति अत्यन्त सजक रहेको पाइन्छ ।
कार्यक्रमका अवसरमा भुटानिज कम्युनिटी अफ हेरिस्वर्गका पूर्व अध्यक्ष विनय लुइॅटेलले अन्य अतिथिहरुको स्वागत गर्दै शुभ तिहारको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे। साथै, पेन्सलभेनिया राज्यको सार्वजनिक बिदाको सूचीमा दीपावलीको दिनलाई औपचारिक मान्यता दिएकोमा गभर्नर जोस सापिरोलाई विशेष धन्यवाद दिए। यो मान्यताले विविधता र एकताको प्रतीकका रूपमा हाम्रो राज्यलाई समृद्ध बनाउँछ।
त्रिवेणी साहित्य मञ्चको निमन्त्रणा स्वीकार गरेर आएका प्याटी किम, डेभ म्याडसन्, र जन्याल स्टेलसनले पनि उपस्थित सबैलाई शुभ दीपावलीको शुभकामना व्यक्त गरे। साथै, अमेरिकामा हुन लागेको आम निर्वाचनमा नागरिक अधिकारको प्रयोग गरी मतदान गर्न पनि आग्रह गरे।
मञ्चका सचिव नारद आचार्य सुधामाले उद्घोषण गरेको कार्यक्रम र त्रिवेणी साहित्य मञ्चका सभापति केशव घिमिरे वैरागी माइलोले उपस्थित सबैलाई शुभकामना र धन्यवाद ज्ञापन गर्दै मञ्चको लेनकास्टर शाखा विस्तारका लागि दुई सदस्यीय समितिको घोषणा गरे। समाजसेवी ओम घिमिरे र दिपेश चापागाई समितिमा नियुक्त भएका छन्। उनीहरुले लेनकास्टर शाखामा छिट्टै एक साहित्यक कार्यक्रमको आयोजना गर्ने र केन्द्रले त्यसमा पूर्ण सहयोग गरी समितिलाई पूर्णता दिइने वचनवद्धता व्यक्त गर्नु भयो ।
सभापति वैरागी माइलोले त्रिवेणी साहित्य मञ्चको आगामी योजनाहरू, लघुकथा संग्रह प्रकाशन, उद्घोषण तालिम कार्यक्रम, र नेपाली भाषा पढ्ने कक्षा सञ्चालनबारे जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गरे।