५० हजार क्षमताको रङ्गशाला बनाउँछौ : प्रधानमन्त्री ओली
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ५० हजार क्षमताको रङ्गशाला बनाउने बताएका छन्।
महिला साफ च्याम्पियनसिपमा उप विजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमलाई बिहीबार आफ्नो सरकारी निवासमा दिवा भोज सहितको सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ रङ्गशाला बनाउने बताएका हुन्।
‘रङ्गशाला पर्याप्त भएन, १५ हजार तीन सय ७३ को होइन अब हामीलाई ५० हजार दर्शक क्षमताको रङ्गशाला चाहियो।’ खेलाडीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।
उनले आधुनिक नयाँ रङ्गशाला सके सम्म छिटो बनाउने बताए।
बुधवार काठमाडौँमा सम्पन्न भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बङ्गलादेश सँग २-१ गोलले पराजित भएको थियो।
प्रधानमन्त्री ओलीले नेपाली टिमको खेलको प्रशंसा गर्दै अर्को पटक जित्ने गरी खेल्न प्रोत्साहन गरे। ‘अर्को पटक हाम्रो पालो हो हामी जित्छौ।’ प्रधानमन्त्री ओलीले भने।