महिला साफ च्याम्पियनसिपका उपविजेता नेपाली टोली सँग प्रधानमन्त्रीको भेट, तिहार लगत्तै पुरस्कार दिइने
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपका उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदा लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।
बुधवार दशरथ रंगशालमा भएको फाइनलमा नेपाल बङ्गलादेश सँग २-१ गोल अन्तरले पराजित भएको थियो।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहार लगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।
‘विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।’ सचिवालयले भनेको छ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरे ।
“विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेन्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ ।’’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी दिए ।
सो अवसरमा खेलाडीहरूले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएकामा खुसी व्यक्त गरेका थिए । उनीहरूले खेलमा मात्रै ध्यान दिएर खेल्न आर्थिक र मानसिक रूपमा सहयोगका लागि पनि आग्रह गरेका थिए ।