फार इन्टरनेशनल ब्रिजमा ६५ हजार अमेरिकी डलरभन्दा बढी अवैध नगद बरामद
टेक्सास, फार । अमेरिकी कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी)का अधिकारीहरूले फार इन्टरनेशनल ब्रिजमा गरिएको एक कारबाहीमा गाडीभित्र लुकाइएका ६५ हजार डलरभन्दा बढी नगद रकम बरामद गरेका छन्। यो कारबाही दक्षिणतर्फ गइरहेको एक गाडीको निरीक्षणको क्रममा भएको थियो।
सीबीपीका हिडाल्गो/फार/एन्जाल्दुआस पोर्ट अफ इन्ट्रीका निर्देशक कार्लोस रोड्रिग्वेजले भने, “हाम्रो फ्रन्टलाइन अधिकारीहरूले तालिम, अनुभव र प्रविधिको सहायताले ठूलो परिमाणको अवैध नगद रकम दक्षिणतर्फ जानबाट रोकेका छन्।
यस प्रकारका नगद जफतहरूले अवैध गतिविधिबाट आएको रकमलाई अपराधी गिरोहहरूको हातबाट टाढा राख्दै सीमाको सुरक्षालाई सुदृढ बनाउँछ।”
घटना अक्टोबर २४ तारिखमा भएको थियो, जब सीबीपी अधिकारीहरूले मेक्सिकोतर्फ गइरहेको रातो फोर्ड पिकअपलाई थप निरीक्षणका लागि रोकेका थिए। भौतिक निरीक्षणका क्रममा गाडीको भित्री भागमा लुकाइएका पाँच वटा बण्डल फेला परेका थिए, जसमा ६५,९४८ अमेरिकी डलर नगद रहेको पाइएको थियो।
सीबीपीले उक्त नगद रकमलाई जफत गरेको छ भने होमल्याण्ड सेक्युरिटी इनभेस्टिगेसन (एचएसआई)का विशेष एजेन्टहरूले आपराधिक अनुसन्धान सुरु गरेका छन्।
अमेरिकी कानुनअनुसार १०,००० डलर वा सोभन्दा बढी रकम लिएर यात्रा गर्न अवैध भने होइन, तर प्रवेश वा बाहिरिने बेला सीबीपी अधिकारीलाई उक्त रकमको घोषणा नगर्नु कानुनी अपराध हो। घोषणा नगरेको रकमलाई लुकाउन खोजेको पाइएमा नगद जफत गरिन सक्छ र आवश्यकता भएमा कानुनी कारबाही हुन सक्छ।