ईगल पास पोर्ट अफ इन्ट्रीमा ४ लाख ३८ हजार अमेरिकी डलर बराबरको लागुऔषध बरामद
टेक्सास। अमेरिकी कस्टम्स एण्ड बोडर प्रोटेक्सन (सीबीपी)को फील्ड अपरेसन कार्यालयले ईगल पास पोर्ट अफ इन्ट्रीमा ४ लाख ३८ हजार डलरभन्दा बढी मूल्यको मिश्रित लागुऔषध बरामद गरेको छ।
सीबीपीका अधिकारीहरूले गत शनिबार गरिएको कारबाहीमा कोकिन र फेन्टानिलको मिश्रणसहितको लागुऔषध जफत गरेका हुन्। ईगल पास पोर्ट अफ इन्ट्रीका पोर्ट निर्देशक पिट बिटीले भने, “कोकिन र फेन्टानिलको यो मिश्रित मात्राले हाम्रा अधिकारीहरूले दैनिक सामना गर्नुपर्ने लागुऔषधको खतरालाई उजागर गर्छ। प्रशिक्षण, अनुभव, कुकुरहरूको प्रयोग र अत्याधुनिक उपकरणहरूको सहयोगले यस विषलाई हाम्रो समाजमा प्रवेश गर्नबाट रोक्न सफल भएका छौं।”
कारबाही अक्टोबर २६ मा कामिनो रियल इन्टरनेशनल ब्रिजमा भएको थियो। एक ७८ वर्षीय मेक्सिकन नागरिकद्वारा चलाइएको २०१५ टोयोटा हाईल्याण्डरलाई थप निरीक्षणको लागि साइडमा राखिएको थियो।
सीबीपीका अधिकारीहरूले गैर-घुसपैठ निरीक्षण (नन-इंट्रुसिभ इन्स्पेक्सन) र सीबीपी कुकुरहरूको प्रयोग गरेर गाडीको जाँच गर्दा गाडीभित्र लुकाइएका लागुऔषधका प्याकेट फेला पारेका थिए।
सुरक्षा अधिकारीहरूले २४.६० पाउण्ड कोकिन र ४.७२ पाउण्ड फेन्टानिल रहेको १३ वटा प्याकेट गाडीभित्रबाट बरामद गरेका थिए, जसको अनुमानित बजार मूल्य ४ लाख ३८ हजार ७१५ अमेरिकी डलर रहेको छ। सीबीपीले गाडी र लागुऔषधलाई जफत गरेको छ भने चालकलाई होमल्याण्ड सेक्युरिटी इनभेस्टिगेसन (एचएसआई)का विशेष एजेन्टहरूले पक्राउ गरी अनुसन्धान सुरु गरेका छन्।