मुस्ताङमा अमेरिकी र भारतीय नागरिकको मृत्यु
काठमाडौं। मुस्ताङ जिल्लामा आज दुई विदेशी नागरिकको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ। मृत्यु हुनेमा एक अमेरिकी पर्यटक र एक भारतीय तीर्थयात्री रहेका छन्।
थासाङ गाउँपालिका–२ थाङसारस्थित होलिडे क्याम्प होटलको कोठामा ६३ वर्षीय अमेरिकी नागरिक मिलो गोलसेगर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल जोमसोम अस्पताल पु-याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रारम्भिक अनुसन्धान अनुसार, गोलसेगर गिजरमा पानी तताएर नुहाउने क्रममा निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
त्यसैगरी, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा दर्शन गरेर फर्कने क्रममा भारतको महाराष्ट्र मुम्बईकी ६९ वर्षीया शारदा महादेव लगडे अचानक बेहोस भई लडेकी थिइन्। उनलाई जोमसोम अस्पतालमा उपचारका लागि ल्याइएको थियो, तर अस्पतालमा पुग्नासाथ चिकित्सकले मृत घोषित गरे। प्रारम्भिक अनुमान अनुसार, लगडेको मृत्यु लेक लागेर भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीले दुवै शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।