नेपाली भाषी भुटानीहरू सिकागो म्याराथनमा
ओहायो, अमेरिका/ नेपाली भाषी भुटानीहरूको सिकागो म्याराथनमा सहभागिता रह्यो। अमेरिकामा आयोजना हुने खेलकुदहरूमा म्याराथन दौड सबैभन्दा धेरै जनसहभागिता हुने खेल हो। १३ अक्टोबर २०२४ को सिकागो सहरमा सम्पन्न पूर्ण म्याराथन दौडमा ५०,००० जनाको सहभागिता थियो। उक्त म्याराथनमा एक सयभन्दा बढी राष्ट्रका नागरिकहरूले भाग लिएका थिए। करिब १.५ मिलियन दर्शक रहेको सो म्याराथनमा भुटानी लोछाम्पा समुदायबाट तीन जनाको सहभागिता थियो । जसमा सुदर्शन लुइँटेल र नीलहरी भण्डारी पेन्सिल्भेनियाबाट र चरण सुवेदी ओहायोबाट रहेका थिए।
चरण सुवेदीको यो म्याराथन चौथो पटकको सहभागिता थियो, र उनले यो पहिलो पटक चुनौतीपूर्ण म्याराथनमा भाग लिएका थिए। उनले उक्त पूर्ण दौड, २६ माइल (४२ किलोमिटर) दूरी जम्मा तीन घण्टा ४५ मिनेटमा पूरा गरेका थिए।
सुदर्शन लुइँटेल र नीलहरि भण्डारीको यो म्याराथन दौड पहिलो थियो। उनीहरूले बिना कुनै चोटपटक उक्त दूरी पार गर्ने लक्ष्य राखेका थिए र सोहीअनुसार दौड पूरा गरे। भुटानीहरू भुटानबाट लखेटिएपछि र तेस्रो मुलुकमा पुनर्स्थापित हुनु अघि दुई दशक शरणार्थी शिविरमा बिताएका थिए। त्यस समयमा उनीहरूले शिविर बाहिर कुनै पनि औपचारिक खेलकुद, साहित्य, कला र सङ्गीतमा भाग लिन पाउँदैनथे।
नेपालमा शरणार्थी भएर बसोबास गर्ने अवस्था र भुटानबाट लखेटिएको कहाली लाग्दो समय भुटानीहरूको इतिहासमा कालो युगको रूपमा रह्यो। जब शरणार्थीहरूले विभिन्न आठ वटा देशमा पुनर्स्थापित हुने मौका पाए तब मात्र उनीहरूले सबै क्षेत्रमा आफ्नो कला र कौशलता देखाउने मौका पाएका छन्। आज तिनै शरणार्थीहरूले विभिन्न क्षेत्रमा सफलता पाएका छन्। उक्त म्याराथन पनि उनीहरूका लागि छुट्टै मौका हो। खानपानमा संयमित, नियमित व्यायाम, र निरन्तर तालिमबाट मात्र यति लामो दूरी २६ माइल (४२ किलोमिटर) निरन्तर दौडन सम्भव हुन्छ। यसमा व्यक्तिको शारीरिक र मानसिक दुवै अवस्थाहरू तन्दुरुस्त हुनुपर्दछ, साथै लगनशीलता र प्रतिबद्धता पनि सफलता हासिल गर्नका लागि महत्त्वपूर्ण छन्।
मानिसको बलियो इच्छाशक्तिले मात्र यस किसिमका कठिन खेलकुदमा भाग लिएर सफलतापूर्वक दूरी पार गर्न सम्भव हुन्छ। अमेरिकामा पुनर्स्थापित भएको करिब १५ वर्षपछि मात्र यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा हाम्रा समाजका केही युवाहरूले भाग लिनु र सफलतापूर्वक पूरा गर्नु हाम्रा लागि गौरवको विषय हो। सानो संख्यामा भए पनि सुरुवात गरिएको भुटानीहरूको म्याराथन दौडको सहभागिताले भविष्यमा संख्या वृद्धि गर्ने आशा राखेको छ। हाम्रा युवा युवतीहरूको उल्लेख्य उपस्थिति आगामी दिनहरूमा अवश्य बढ्ने विश्वास ती धावकहरूले व्यक्त गरेका छन्।
यस किसिमका खेलकुदहरूले मानिसमा, विशेष गरी युवा पीढीमा, अनुशासनको बलियो पाठ सिकाउँछन्। यसले युवा युवतीहरूलाई हरेक कुरामा सफलताको मार्ग खोलिदिन्छ र सम्भावनाका ढोकाहरू खोल्न मद्दत गर्दछ।
उक्त तीन जना युवाहरूको यस म्याराथनले मनोबल अरू उच्च बनाउने आशा राखेका छन्। भविष्यमा यो संख्या बढ्न सक्छ र एकबाट सुरु भएको यात्रा भोलि सयौँमा पुग्न सक्छ। यो सानो संख्या र प्रयास भविष्यका लागि प्रेरणाको स्रोत बन्न सक्छ।
सुदर्शन लुइँटेल एक उत्कृष्ट र जेहेन्दार विद्यार्थी हुन्। उनले अध्ययनका साथै नियमित कसरत गर्ने गर्दछन् र यस्ता कठिन कार्यमा भाग लिने गर्छन्। उनको आगामी योजना ह्यारिसबर्ग म्याराथनमा भाग लिने हो बताएका छन् ।
नीलहरि भण्डारीले भने “इन्स्पायर्ड टु एक्सप्लोर” नामक एक गैरनाफामुखी संस्थाको स्थापना गरेका छन्। उनले उक्त संस्थाको उद्देश्य पूरा गर्नका लागि यसभन्दा पहिले नै अंटार्कटिकामा रहेको उच्च शिखर “भिन्सन मासिफ” र दक्षिण अमेरिकाको “अकन्कागुआ” को सफल आरोहण गरिसकेका छन्। भण्डारीको उक्त संस्थाले मानिसहरूमा बाहिरी गतिविधिहरू व्यक्तिगत र सामूहिक रूपमा बढाएर लैजाने विश्वास लिएका छन्। यसले सबै समुदायलाई पैदल यात्रा, वनभोज, र अन्य बाहिरी गतिविधिहरूमा सहभागी हुन प्रेरित गर्छ, जसले समुदाय बिच भाइचारा बढाउने र एक अर्कालाई राम्ररी चिनाउने विश्वास जगाउँछ।
नेपाली भाषी भुटानी समुदायका अर्का सफल धावक गोविन्द सुबेदी हुन्। उनले जम्मा १२ वटा म्याराथन दौड दौडी सकेका छन्। उनको विशेषता भनेको उनले खाली खुट्टा दौड दौडनु हो। यति लामो दूरी पिच सडकमा खाली खुट्टा दौडन सक्नु भनेको साधारण कुरा होइन। उनको कसरत र अभ्यासलाई मुक्त कण्ठले प्रशंसा गर्नुपर्छ।
उक्त दौडमा नेपालका निग्मा शेर्पाले पनि भाग लिएका थिए र उनले पनि सिकागो म्याराथन सफलतापूर्वक पूरा गरे।