नेपालमा आज दसैंको टिका लगाइँदै

काठमाडौं । विजया दशमी, आश्विन शुक्ल दशमीको अवसरमा आज नेपालभर हर्षोल्लासका साथ मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभ साइत बिहान ११:३६ बजे निर्धारण गरेको भए तापनि विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने बताइएको छ। राज्य सञ्चालकका लागि भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।
आज, पूजा गरिएको स्थानमा देवीलाई वैदिक विधिबाट विसर्जन गरी टीका लगाइन्छ, र परम्परागत रुपमा शुभ दिनका प्रतीक टीका र जमरा लगाउने गरिन्छ।
टीका लगाइमाग्ने मानिस पूर्व फर्केर बस्नुपर्ने र लगाइदिने पश्चिम फर्केर बस्नुपर्ने बताइएको छ।
यो दिनलाई भगवान् रामले रावणलाई परास्त गरी विजय प्राप्त गरेको दिनको रूपमा धार्मिक महत्व दिइएको छ।
यस अवसरमा मान्यजनबाट नवदुर्गाको टीका, जमरा र आशीर्वाद थाप्न अधिकांश स्थानमा कोजाग्रत पूर्णिमासम्म कार्यक्रम जारी रहनेछ।