बिसीएच मेला, सांस्कृतिक र जातीय एकताको सन्देश !

गण्डकीपुत्र । ह्यारिसबर्गमा रहेको सामाजिक संस्था , भुटनिज कम्युनिटी अफ ह्यारिसबर्गले यस पटक दसैँ मेला आयोजना गर्दै छ । भन्ने चर्चा साथीहरू सङ्गको भेटघाट मा सुनिँदै थियो । नेपाली ग्रोसरी पसल , नेपाली रेस्टुरेन्ट तिर जाँदा वा नेपाली अन्य व्यावसायिक पसल तिर जाँदा मेला लाग्छ अरे भन्ने चर्चा हुँदै थियो ।
मानिसमा एक प्रकारको कौतुहलता व्याप्त थियो । कस्तो होला मेला ? कसरी होला मेला ? बिसिएच का पदाधिकारी र अन्य त्यस अभियान सङ्ग जोडिएका व्यक्तिहरूको व्यस्तता मेला सङ्ग जोडिएर सजिलै बडेको कुरा उनीहरूको अनुहार हेरेर बुझ्न सकिन्थ्यो ।
यस्तो लाग्थ्यो सबै व्यग्र प्रतीक्षामा छन् मेलाको दिन पर्खेर । अन्ततः अक्टोबर ६ तारिक पेन्सिल्भेनियामा बिहानको सूर्य अरू दिनको भन्दा आभायुक्त भएर देखा पर्यो । बिहानको शीतलता सङ्गै बादलका टाटाहरू आकाशमा फाट्टफुट्ट देखियो जसले दिनलाई अझ शीतल बनाउने सङ्केत दिँदै थियो । म मेरा भर्जिनिया निवासी मित्र प्रेम ढुङ्गानाको साथ लागेर योर्कबाट मेला स्थल तिर लागे । मेला २/४ सय मानिस जम्मा होलान् । एक दुई पसलहरू राखिएलान् । सामान्य भेला होला । दुईचार साथीहरू सङ्ग गफिएर घर फर्किइन्छ होला । बाटामा यस्तै कुरा भए । हामी मेला स्थल पुग्दा सांस्कृतिक झाँकी सुरु हुँदै रहेछ ।

बिसिएचका अध्यक्ष तिलक निरौलाले झाँकीको नेतृत्व गरेका थिए । पछाडि हातमा नेपालको झन्डा बोकेका बालबालिका , विभिन्न जातिका आफ्ना सांस्कृतिक पहिरन सहित लामबद्ध महिला र पुरुषहरूको पङ्ती , खेलाडीहरू , समाजका बौद्धिक र समाजसेवीहरू व्यक्तित्वहरू, साहित्यिक समाजको प्रतिनिधित्व गर्दै त्रिवेणी साहित्य मञ्च , विभिन्न समूहका घरजग्गाको कारोबार गर्ने संस्थाहरू , नेपाली व्यापारी र व्यावसायिक संस्थाहरू ।
मानिस हराउने खालको भिड । झुन्ड झुन्डमा कोही गफ गरिरहेका , कोही मोमो को लाइनमा , कतै पानी पुरीमा भिड , कतै खानामा लाइन , यता यस्तै भिड । उता युवा कवि पातलो अन्तरे र भुटनिज कम्युनिटी अफ ह्यारिसबर्गकी सचिव माया मिश्र दुलाल लाई स्टेजमा साङ्गतिक र सांस्कृतिक टोलीलाई व्यवस्थापन गर्न भ्याई नभ्याई । बुढापाका हुन कि तन्नेरी जो पनि हौसिएको छ , रमाएको छ । नाचेको छ , गाएको छ । म नेपालमा जन्मी हुर्केको नेपालकै कुनै बजारमा हराएको छु कि जस्तो लाग्ने । जो भुटानमा जन्मी हुर्केको छ उसलाई उतै साम्ची तिर , दागाना तिरको बजारमा हराएको भान भयो होला । कसैले सिक्किम , दार्जिलिङ तिरको हाट बजार सम्झे होलान् । मनले जताको याद दिलाए पनि सबै थिए । ह्यारिसबर्ग एरिया कम्युनिटी कलेजको प्राङ्गणमा । नेपाली जातीका विभिन्न भेसभुसामा सजिएका महिला पुरुषको भिड । यता पसलमा पाक्दै गरेको सेल रोटी , नाकमा बुलाकी , गुन्यु चोलो र दौरा सुरुवाल । कतै सगरमाथा , लुम्बिनी र पशुपति मन्दिर उतारिएको नेपाली चित्रकला । कतै भूगोल थिएन , कतै देश थिएन तर राष्ट्रियता झल्किरहेको थियो अनुहारमा , पहिरनमा , नाक कानका गहनामा , विभिन्न प्रकारका झाँकीहरूमा र माइकबाट गुन्जिरहेको गीतमा ।
कोही पश्चिम कोही पूर्व घर
आगन तर एउटै हो
छरिएर बसे के भो
सन्तान त एउटै हो ।
मेला छोडेर घर फर्की हाल्न कोही चाहँदैन तर के गर्नु घर पुगेर घरको अर्को सदस्यलाई मेला पठाउनु छ । कसैको रातीको काम छ । बेलैमा घर पुगेर काममा जाने तयारी गर्नु छ । कसैले अशक्त बुवा , आमालाई घरमा छोडेर आएका छन् । तिनीहरूलाई हेरचाह गर्न पुग्नु छ । कति मानिसले मेलाको जानकारी पनि पाएनछन् । कति कामको कारणले मेला पुग्न भ्याएनन् । कोही युवा जोस्सिएर भन्दै गरेको सुनियो । अर्को वर्ष त कलअफ गरेर बसिन्छ हेर न काम छ । यस्तो रमाइलो छोडेर हिँड्नु पर्यो । अहो ! टी बी सरलाई कस्तो सुहाएको गुरुङ पहिरन , उता आभास रिखाम मगर मगर पहिरनमा हुर्रा नाच्न ठिक्क परेको देख्दा कस्तो रमाइलो लाग्ने , विभिन्न मानिसका भिन्न भिन्न जिज्ञासा ।चण्डी नाचेर युवाहरूले ह्यारिसबर्ग कम्युनिटी कलेजको आकाश थर्काए। नव दुर्गाको रूपमा आएका नानीहरूले नव दुर्गाको साक्षात् रूप आफ्नो कलामा प्रस्तुत गरे । नाटकको रूपमा त्रिवेणी साहित्य मञ्चका कलाकारले कविता सुनाए र कविताको महत्त्व बुझाउने कोसिस गरे ।
नाटकको नेतृत्व अध्यक्ष केशव वैरागी माइलो आफैले गरेका थिए । कार्यक्रमहरू हाम्रा परम्परागत संस्कृति झल्काउने समय सापेक्ष र आकर्षक थिए । मेलामा नेपाली पोसाक पहिरिएर घुम्दै थिए , बिसिएच पूर्व अध्यक्ष विनय लुइँटेल , व्यवसायी र समाजसेवी दिपकजङ्ग विश्वकर्मा , तुलाराम न्यौपाने , नारद अधिकारी , एनआरएन पेन्सिल्भेनिया उपाध्यक्ष अभिषेक थापा र समाजका अन्य प्रबुद्ध समाजसेवी र सामाजिक अभियन्ता ।
हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठनकी उपाध्यक्ष अग्रणी महिला वसुधा रिजाल को भनाई थियो । “अर्को वर्षको मेला यो ठाउँमा सम्भव हुँदैन । यो उत्साहप्रद उपस्थिति होला झैँ लागेको थिएन । तर हामी सङ्ग यस प्रकारको हाट बजारको तिर्सना कति रहेछ यो मेलाले प्रमाणित गरिदियो ।” पहिलो पटकको आयोजना भएर पनि होला । आयोजकहरू अलि अलमलिएका हुन कि जस्तो देखिन्थे । झाँकी अझ व्यवस्थित गर्न पाएको भए राम्रो हुन्थ्यो कि । झाँकी प्रदर्शन गर्ने दूरी पनि अलि कम नै लाग्थ्यो । उ आत्मियभावमा सुझाव दिँदै थियो ।
जति काम गर्दै गयो उति नै व्यवस्थित हुँदै जाने हो । पहिलो पटक भएकोले पनि यस्तो भएको हो । आउने दिनमा ठाउँ पनि ठुलो चाहिने निश्चितै छ कोही सम्झाउँदै थियो । कोही पनि यस बेला निराश हताश कुरा गर्न चाहँदैन थियो । यो सबको एउटै कारण थियो जातीय सद्भाव र आपसी प्रेम । पसल पनि अन्यत्र सङ्ग समन्वय गरेर बढी नै राख्नु पर्छ होला । पहिलो चोटि भएर कति मानिसले मेसो नपाएको पनि हुन सक्छ ।
सिङ्गो ह्यारिसबर्गको नेपाली समाज उत्रियो भने त यहाँका हाइ वे पनि सानो हुन्छ । ती युवाको कुरा सुनेपछि सम्झिए राजनीतिको खिचातानी अनि सम्झिए सांस्कृतिक र जातीय एकताको यो मेला । समग्रमा यो मेलाको सोच ल्याउने व्यक्तिलाई धन्यवाद । धन्य छ आयोजक भुटनिज कम्युनिटी अफ ह्यारिसबर्ग । हाम्रो सान , हाम्रो मान र हाम्रो सांस्कृतिक र जातीय पहिचानलाई यसरी नै समृद्धि तिर लाने हो । यो सांस्कृतिक एकताको प्रतीक दसैँ मेलाले निरन्तरता पाओस् । सबैमा विजया दशमीको हार्दिक र मङ्गलमय शुभकामना ।
गण्डकीपुत्र
झोराहाट – २
हाल :- अमेरिका