ग्राण्ड मास्टर दिवाकर महर्जनको ‘आँट’ जसले कोरियामा लेखियो इतिहास
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ त्यसो त तीन दशक अगाडि पनि उनी अर्थात् तेक्वान्दोका ग्राण्ड मास्टर दिवाकर महर्जनले त्यो आँट गरेका थिए। भित्र पाटनको रैथाने। नेपालमा काठमाडौँमा घर हुनेलाई अहिले पनि सम्पन्न मानिन्छ।
दिवाकरको परिवार सँग घर बाहेकको जमिन पनि थियो। उनी तेक्वान्दोका केही गर्न चाहन्थे तर नेतृत्वको कोप भाजनमा परे।
थानकोट नकाटेको मान्छेलाई सुदूरपश्चिम सरुवा गरियो, राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षकको रूपमा।
खटाएको ठाउँमा गए पनि, झन्डै बाघले मारेको पनि थियो। तर उनले तेक्वान्दोमा धेरै गर्नु थियो, त्यस कारण बाघले पनि छोडिदियो।
अनि उनले आँट गरे, माटो छोड्ने
तेक्वान्दो नेतृत्वले भजन मण्डली बाहेक अन्यलाई देखि नसहने। तेक्वान्दोमा केही गर्न चाहन्थे तर हात खुट्टा बाँधिएको सिपाही जस्तो। अहिलेको जस्तो देश छोड्नेको भिड विमानस्थलमा हुँदैन थियो पनि त्यो बेला। दिवाकरको मनमा लाग्यो, मैले तेक्वान्दोमा केही गर्नु पर्छ तर नेपालमा होइन।
नेपालको सुदूर पश्चिमको सरकारी जागिर छोडेर नेपाली तेक्वान्दोका पिता ग्रान्ड मास्टर जेके सिनको निमन्त्रणामा उनी अमेरिकाको सुदूरपश्चिम राज्य ओरिगनको पोर्टल्याण्डमा ओर्लिए।
पहिलो वर्ष केही महिना ग्यास स्टेशनमा घण्टा पनि हाने। तर मन मानिरहेको थिएन। होइन, यस्का लागि त म अमेरिका आएको हुँदै होइन। पाटनमा घर छ। खान लगाउन समस्या होइन। पैसा कमाउला भनेर अमेरिका आएकै होइन। मनमा यस्तै खेल्दै थियो। फेरि उनले अर्को आट गरे। तेक्वान्दो स्कुल खोल्ने।
अहिले होइन आज भन्दा २९ वर्ष अगाडि अमेरिकामा एउटा नेपालीले आफ्नै तेक्वान्दो स्कुल खोल्ने कुरा सुन्दा पनि मान्छे जिब्रो टोक्थे।
औसत नेपाली नेपालमा जुनसुकै पेसा व्यवसायका हुन अमेरिका आए पछि घाम देख्न मुस्किल हुने गरी घण्टा हान्न तल्लिन हुन्थे। त्यसैमा जीवन बिताउने पनि छन्। जोखिम लिनै नचाहने। आँट नै नगर्ने।
तर दिवकारले त्यो क्रमलाई क्रमभङ्गता गरे ‘यूएस वर्ड क्लास तेक्वान्दो स्कुल हलिउड’ खोलेर अमेरिकामा नेपालीले व्यवसाय गर्न सक्छ त्यो पनि खेलकुदमा, प्रमाणित नै गरिदिए।
दिवाकरले त्यो बेला गरेको आँटलाई अहिले दुई दर्जन भन्दा बढी नेपाली र नेपाली भाषीले अवलम्बन गरेका छन्।
उनको तेक्वान्दो स्कुल अहिले पनि दमदार चलेको छ। पोर्टल्याण्डको डाउन टाउनमा आफ्नै विशाल तीन तले भवनमा रहेको स्कुलबाट हजारौँ दीक्षित भएका छन्। उनका कयौँ विद्यार्थी अहिले डाक्टर, इन्जिनियर, सफल व्यवसायी बनेका छन्। कोही उच्च सरकारी ओहोदामा छन्।
उनी शहरमा जहाँ जहाँ जान्छन् कहि न कहीँ चेला भेटिन्छन्। आआफ्नो पेसा व्यवसायमा सफलता हात पारेकाहरूले शिर निहुराएर नमन गर्छन्। एउटा नेपालीको छोरो हुनमा उनलाई त्यो बेला झन् गर्व लाग्छ। त्यो बेला माटो छोडेर ठिकै गरेको रहेछु भन्ने हुन्छ।
दिवाकर बाच्नका लागि अमेरिका आएका हुँदै होइनन्। पाटनमा घर भएको मान्छेलाई पैसाको के डर। दुई थुङ्गा काउली फल्ने बारी नै करोडौँको भाउमा बिक्दै थियो। पहाडबाट झरेकाहरूले त्यही जग्गा किनबेच गरेरै कति कमाए कति। तर दिवाकरको ध्यान त्यता थिदैथिएन । उनलाई तेक्वान्दोमा नै केही गर्नु पर्ने थियो।
फेरि अर्को आँट गरे
तेक्वान्दो स्कुल शुरु गरेको केही वर्ष भित्रै सन् २००० मा उनले अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) शुरु गरे। त्यो बेला पनि मान्छेले भनेका थिए। ‘कति दिन पो टिक्ला र’।
च्याम्पियनसिप भड्काउन केही मान्छे नलागेका पनि होइनन्। जसले उनलाई नेपालमा तेक्वान्दोमा चल्न दिएका थिएनन्। जसका कारण उनले जोखिम मोल्दै प्रिय पाटन छोडेका थिए। ती फेरि सलबलाएका थिए।
त आँट म पुर्याउछु। बिथोल्न खोज्ने आफ्नो काम गर्दै थिए, तत्कालीन युवराजाधिराज दीपेन्द्रको बाहुलीबाट उनले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको संसद् भवन) मा आइओएफटीसीको इति श्री गरे।
मान्छेलाई लागेको थिएन, त्यो आइओएफटीसीले यति लामो यात्रा गर्छ। तर यो अब २५ वर्षको सँघारमा छ। १५ औ संस्करणका लागि भेनु खोज्दै छ।
कोरियाको चुनौति माथि अर्को आँट

नेपालबाट शुरु भएको च्याम्पियनसिपले अमेरिका, भारत, हङकङ, बेलायत हुँदै तेक्वान्दोको जननी कोरियामा आफूलाई प्रमाणित गरेको छ। विविध चुनौती चिर्दै दिवाकरले दक्षिण कोरियामा १४ औ आइएफओटिसी गराए।
तेक्वान्दो प्रतियोगिताहरूको भिडमा छुट्टै पहिचान स्थापित गर्न सफल आइओएफटिसी प्रत्येक दुई-दुई वर्षमा आयोजना हुँदै आएको छ।
अमेरिकाको पोर्टल्यान्डमा प्रमुख कार्यालय रहेको आइओएफटिसी पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर हुँदै आएको छ।
आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण भएको छ भने नेपालमा चार संस्करण सम्पन्न भइसकेको छ। यस्तै भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ।
तेक्वान्दोको जन्मभूमि भए पनि कोरियामा गैर-कोरियनका लागि प्रतियोगिता आयोजना गर्न सहज थिएन।
विगत २८ वर्ष देखि कोरिया बस्दै आएका तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री राजु क्षेत्री दिवाकरले गाह्रो काममा हात हालेको स्वीकार गर्छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका पूर्व अध्यक्ष तथा नेपाली जनसम्पर्क समितिको स्थापनाकाल देखिकै सल्लाहकार क्षेत्री आफ्नो कोरिया बसाइँका क्रममा गैर कोरियनले तेक्वान्दो प्रतियोगिता आयोजना गरेको नदेखेको बत्ताउँछन्।
‘अहिले सम्म विदेशीले कोरियामा तेक्वान्दो प्रतियोगिता गरेकै थिएन। ठुलै चुनौती हो। त्यहाँ सबैले आ आफ्नै शैलीमा व्यापार गरेका छन्। म त्यत्रो बसे बाहिरबाट आएर गरेको देखिन।’ समाज टाइम्स सँग क्षेत्री भन्छन्, ‘कोरियामा संयोजनका लागि जिम्मा मैले लिएको थिए, विश्व विद्यालय सँग समन्वय गरियो। गाह्रो थियो तर पनि सफल पारियो।’
हाल नेपालमा कार्यरत तेक्वान्दो प्रशिक्षक अशोक खड्का पनि दिवाकरले ‘आँट’ गरेकोमा सहमत जनाउँछन्।
‘विदेशीले कोरियामा तेक्वान्दो प्रतियोगिता आयोजना गरेको थाहा छैन’ खड्काले समाज टाइम्स सँग भने, ‘कोरियनले आफै प्रतियोगिता गर्न खोज्छन्, यो चुनौती हो, आँट गरेकै हो।’
हुन पनि दिवाकरले दक्षिण कोरियामा प्रतियोगिता आयोजनाको दौरान धेरै कठिन र चुनौतीपूर्ण अवस्थाको सामना गरे।
‘सुरूमा आयोजनाको अनुमति लिन नै समस्या भयो,’ समाज टाइम्स सँग दिवाकरले भने, ‘भाषाको अर्को समस्या थपिदा हामीलाई सुरुमा निकै गाह्रो भएको थियो।’
‘चुनौती झेल्नुको मज्जा नै अर्को हुन्छ।’ प्रायशः मुस्काइ रहने दिवाकर अहिले ठट्टाको शैलीमा भन्छन्, ‘एक पटक त के हो के भन्ने पनि भएको थियो, शुरुमा नै दश हजार अमेरिकी डलर पठाएका पनि थियौ। तर जे भयो राम्रै भयो।’
दिवाकर आफ्नो उद्देश्य तेक्वान्दो मार्फत विश्वभर मैत्री भाव जगाउने भएको बताउछन्। ‘तेक्वान्दो खेलको प्रवर्धनका लागि दुई दशकसम्म प्रतियोगिता आयोजना गरेको अनुभव देखाए पछि प्रतियोगिता आयोजना गर्न अनुमति प्राप्त भयो।’ दिवकारले भने।
प्रतियोगिताको स्थानीय आयोजकको जिम्मा कोरियन मार्सल आर्टलाई दिइएको थियो भने प्रतियोगिता क्युन्मिङ विश्वविद्यालयमा भएको थियो।
सिनियर पुरुष र महिलाको समान आठ-आठ तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइएको प्रतियोगितामा ६५० खेलाडी सहभागी भए। जसमा ८ देशका खेलाडीले प्रतियोगितामा भाग लिएका थिए। नेपालसहित दक्षिण कोरिया, अमेरिका, भारत, श्रीलंका, फिलिपिन्स, अस्ट्रेलिया र जापानका खेलाडीले प्रतियोगितामा भाग लिएका थिए।
नेपालबाट छनोट भएका खेलाडीले भिसा आवेदनका लागि समय पाउन नसक्दा एक जना खेलाडीले मात्र सहभागी जनाएका थिए।
कोरियामा १४औँ संस्करण सम्पन्न भएसँगै प्रतियोगिता अब २५औँ वर्षमा प्रवेश गर्ने चरणमा छ।
प्रतियोगिता २५औँ वर्षमा प्रवेश गर्न लागेकोमा दिवाकर निकै खुसी छन्।
‘हामीले तेक्वान्दो खेल्न चाहाने जो कोहीलाई पनि अवसरबाट वञ्चित हुन नपरोस् भनेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सन् २००० मा सुरुवात गरेका थियौँ,’ दिवाकरले भने, ‘आज यो प्रतियोगिता २५औँ वर्षमा पाइला टेकेकोमा निकै गर्व लागेको छ।’
सामाजिक भावनाले प्रतियोगिता आयोजना गर्दै तेक्वान्दो खेलाडीको हितका लागि काम गरे पनि महर्जनले पहिलो संस्करणदेखि नै चुनौती खेप्न पर्यो। यो संघर्ष अहिले पनि जारी नै छ।
‘सन् २००० को संस्करणदेखि नै हामीलाई असफल बनाउन तेक्वान्दोकै मानिसहरू पनि लागे। त्यो क्रम अहिले पनि जारी नै छ,’उनले भने, ‘हामीले राम्रो उद्देश्यका लागि काम गरेकाले अहिलेसम्म सफल हुँदै आएका छौँ।’
गैरनाफामुलक संस्थाको रूपमा अघि बढेको आइओएफटिसीलाई महर्जन लगायतका अमेरिकामा रहेका स्वमसेवक व्यक्तिले आफ्नो समय र पैसा खर्च गर्ने गरेका छन्।
दिवकारले २५औँ वर्षमा पुगेको उपलक्ष्यमा केही विषेश कार्यक्रम आयोजना गर्ने सोच समेत बनाएका छन्। यसरी आइओएफटिसीमार्फत् तेक्वान्दो खेलको प्रवर्धन गरिरहेका दिवाकर तेक्वान्दोको ‘सुपर क्लास’ (उच्च श्रेणी) को निर्णायक हुने पहिलो नेपाली हुन्। उनी गत वर्ष सुपर क्लासको निर्णायक भएका थिए।
उनी तेक्वान्दोका आठौँ डान समेत हुन्। तेक्वान्दोमा आठौँ डान पाउने नेपाली मध्येमा औलामा गन्न सकिने व्यक्तिमा उनी पर्छन्। उनले १९८६ मा पहिलो डान लिएका थिए। ३७ वर्षपछि उनले गत वर्ष आठौँ डान लिए।
दिवकारले तेक्वान्दोका डानसँगै हप्किडोको पनि आठौँ डानको परीक्षा दिएका थिए। त्यसमा पनि उनी सफल भए।
तेक्वान्दोको सुपर क्लास निर्णायक र आठौँ डन लिएर उच्च श्रेणीको तेक्वान्दोकर्मी बनिसकेका दिवाकरले पाटनमा मैत्री तेक्वान्दो डोजाङ समेत स्थापना गरेका थिए। २०५० सालको दर्ता भए पनि उनले दर्ताअघि नै डोजाङ स्थापना गरेका हुन्।















