बढी भाडा लिने ३१ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं। काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबारमात्र बल्खुबाट एउटा सवारी साधनसहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
हिजो पनि बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको छ।
चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको अवस्थामा २ ओटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए।
चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ, जसमा यात्रुको गुनासो सम्बोधन र सहजता ट्राफिक प्रहरीद्वारा प्रदान गरिदै आएको छ। चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना-२०८१ को प्रभावकारी कार्यान्वयन गर्नका लागि आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ। यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितता जस्ता विषयमा विशेष ध्यान केन्द्रित गर्ने छ।
गत १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्री गर्दै गरेको अवस्थामा एक जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोंगबुको नियन्त्रणमा लिइएको छ।
यात्राका क्रममा कसैले अनावश्यक दुख: हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीले दिएको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ।














