नेपालमा बाढी पहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति
काठमाडौँ। नेपालमा असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले नेपाली जनजीवनमा गम्भीर असर परेको छ। किसानका पाक्न लागेका धानबाली र वर्षभरिका तरकारी नष्ट भएका छन्। साथै, मुख्य राजमार्गहरू क्षतिग्रस्त हुँदा जनजीवन थप कष्टकर बनेको छ।
प्राकृतिक विपत्तिको कारण रु १७ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीका कारण २१ जिल्ला प्रभावित भएका छन्, जसमध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरमा बढी क्षति पुगेको छ। बाढी र पहिरोले सडक, पुल, जलस्रोत, कृषि, र ऊर्जासँग सम्बन्धित संरचनामा उल्लेखनीय क्षति पुर्याएको छ।
क्षति:
सडक र पुल: बाढीले ५ वटा पक्की पुल र २ वटा बेलिब्रिजमा क्षति पुर्याएको छ। राजमार्गहरूमा क्षति पुगेको छ, जसमध्ये ३७ वटा राजमार्ग अवरुद्ध भएका छन्, तर ९ वटा पुनः सञ्चालनमा आइसकेका छन्।
कृषि: करिब ५८,४७६ हेक्टरमा लगाइएको धानबालीमा रु ३ अर्ब ५० करोड बराबरको क्षति भएको छ। कृषि क्षेत्रमा कूल रु ६ अर्बभन्दा बढीको क्षति पुगेको छ।
ऊर्जा र जलस्रोत: सिँचाइ र जलस्रोत क्षेत्रमा रु ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ। राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजना प्रभावित भएको छ।
खानेपानी: खानेपानी संरचनामा रु ३ अर्ब ५५ करोड बराबरको क्षति पुगेको छ। काभ्रेपलाञ्चोक, भक्तपुर, र रामेछापका खानेपानी परियोजनाहरूमा उल्लेखनीय असर परेको छ।
बाढी र पहिरोमा परी हालसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। १५८ जना घाइते भएका छन्, र ४,३३१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
सरकारको तयारी: बाढीपहिरोले क्षति पुर्याएका क्षेत्रहरूको पुनःस्थापना र पुनःनिर्माणका लागि सरकारले विभिन्न पहलहरू थालेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार, खोज तथा उद्धारका लागि ३०,७३१ सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारले विपद्पछि अवरुद्ध भएका सडकहरूलाई तत्काल सञ्चालनमा ल्याउन, पहिरो हटाउन, बेलिब्रिजहरू जडान गर्न, र वैकल्पिक माध्यमहरूबाट यातायात पुनः सुचारु गर्न योजना बनाएको छ। साथै, अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि, र कालोबजारी नियन्त्रण गर्न कडा नीति अवलम्बन गर्ने बताइएको छ।
टेलिफोन र विद्युत् सेवा पुनःस्थापनाका लागि जनशक्ति परिचालन गरी अवरुद्ध सेवाहरूलाई नियमित गर्न पहल भइरहेको छ।
सरकारले बाढी र पहिरो पीडित परिवारहरूलाई राहत वितरण कार्य सुरु गरेको छ, र मुलुकलाई पूर्ववत् अवस्थामा फर्काउन पुनःनिर्माणको कार्य तीव्र बनाउन थालिएको छ।