सिधाकुरा अनलाइनका सम्पादक र प्रकाशकलाई तीन तीन महिना कैद
काठमाडौँ । सर्वोच्च अदालतले फेक अडियो काण्डमा सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ।
सर्वोच्च अदालतको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको छ। साथै, सिधाकुरा डटकमलाई ५ हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ।
अदालतले सम्पादक ढुंगाना र प्रकाशक कँडेललाई सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुनः त्यस्तो कार्य नदोहोर्याउने लिखित प्रतिबद्धता जनाएमा तीन महिनाको कैदलाई घटाएर सात दिनको मात्र कैद हुने निर्णय गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको बृहत इजलासले यो फैसला गरेको हो। सिधाकुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने सर्वोच्चको निर्णयका सम्बन्धमा ‘डार्क फाइल्स’ नामक शृंखलाबद्ध समाचार प्रशारण गरेको थियो।
यस समाचारमा चार सयभन्दा बढी भ्रष्टाचारका मुद्दाहरू डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीशहरूलाई मुछेर सामग्री प्रसारित गरिएको थियो। त्यसपछि सर्वोच्च अदालतमा उक्त समाचारलाई झुटो भन्दै रिट परेको थियो, जसमा तिमल्सिना, कँडेल, र ढुंगानालाई प्रतिवादी बनाइएको थियो।